लोड हुँदैछ...

मेनु

रास्वपाका प्रतिनिधिहरू पदका लागि होइन, देश बनाउन आएका हुन् : सीके राउत

रास्वपाका प्रतिनिधिहरू पदका लागि होइन, देश बनाउन आएका हुन् :  सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको उच्च प्रशंसा गरेका छन् । चितवनमा आयोजित रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशभरबाट आएका प्रतिनिधिहरू कुनै पद वा प्रतिष्ठाको लोभमा नभई देश बदल्ने अठोटका साथ उपस्थित भएको बताए ।

पूर्वी नेपालको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका व्यक्तिहरू चितवनमा भेला भएको उल्लेख गर्दै डा। राउतले उनीहरूको उत्साहलाई देश निर्माणको बलियो आधारका रूपमा चित्रण गरे ।

‘तपाईँहरू महाधिवेशनमा पदका लागि आउनुभएको होइन । तपाईँहरूमा यो देश बदल्ने उत्कट चाहना छ, त्यसैले आउनुभएको हो,’ राउतले भने, ‘म भित्र पनि देश बनाउने त्यस्तै चाहना भएकाले तपाईँहरूलाई शुभकामना दिन उपस्थित भएको हुँ । म तपाईंहरूको प्रतिस्पर्धी होइन, एउटा सहयात्री र सहयोगीको रूपमा आएको छु ।’

सम्बोधनका क्रममा डा। राउतले बालेन्द्र शाहको क्षमता र नेतृत्वको समेत खुलेर प्रशंसा गरे । उनले मधेसीको छोरा बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा पाएको भन्दै खुशी व्यक्त गरे र उनलाई ‘स्मार्ट, स्टाइलिश र ड्यासिङ’ नेताको संज्ञा दिए । विगतमा आफूले समानताका लागि गरेको आन्दोलनको स्मरण गर्दै राउतले अहिलेको नेतृत्वले नयाँ आशा जगाएको बताए ।

यसैबीच, डा। राउतले व्यङ्ग्यात्मक शैलीमा विपक्षी दलहरूको आलोचना समेत गरे । प्रधानमन्त्रीको शैलीप्रति लक्षित गर्दै उनले ठट्टा गरे, ‘कुनै दिन विपक्षी दलले कालो लुगा लगाउन प्रधानमन्त्रीले निषेध गर्न नसक्लान् भन्न सकिन्न ।’

रास्वपाले देशमा जुन सपना देखेको छ, त्यसमा आफ्नो पनि ऐक्यबद्धता रहेको भन्दै डा। राउतले नयाँ शक्तिहरू मिलेर समृद्ध नेपाल निर्माण गर्नुपर्नेमा जोड दिए । उनले रास्वपाका कार्यकर्ताहरूलाई पदभन्दा माथि उठेर देशलाई समृद्ध बनाउने दिशामा पार्टीलाई सहयोग गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।