लोड हुँदैछ...

मेनु

ओखलढुंगामा पहिरोको कहर : पक्की पुलमा क्षति, घर–गोठ बगाउँदा पशुचौपाया बेपत्ता

ओखलढुंगामा पहिरोको कहर : पक्की पुलमा क्षति, घर–गोठ बगाउँदा पशुचौपाया बेपत्ता

विराटनगर । लगातारको वर्षापछि आएको बाढी र पहिरोले ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा व्यापक भौतिक क्षति पुर्‍याएको छ। खानी खोला र बांगे खोलामा आएको बाढीले पक्की पुलमा क्षति पुर्‍याउनुका साथै घर–गोठ बगाउँदा आधा दर्जनभन्दा बढी पशुचौपाया बेपत्ता भएका छन्।

खानी खोलाको बाढीले चिसंखुगढी गाउँपालिका–३ र ५ लाई जोड्ने पक्की पुलमा क्षति पुर्‍याएको छ। यस्तै, बांगे खोलामा आएको बाढीले वडा नम्बर २ का टीका भुजेलको भैंसीसहितको गोठ बगाएको छ। सोही वडाका मननारायण श्रेष्ठको गोठ पनि बगाएको छ भने उनका दुईवटा गोरु हराएका छन्।

वडा नम्बर ३ का मनबहादुर सार्कीको खरले छाएको गोठ बाढीले बगाउँदा तीनवटा गोरु बेपत्ता भएका छन्। यससँगै विभिन्न स्थानमा पशुधनमा समेत ठूलो क्षति पुगेको छ।

पहिरोले वडा नम्बर १ का रामकुमार राईको दुईतले घरको अगाडिको भागमा क्षति पुर्‍याएको छ। घर जोखिममा परेपछि उनको परिवार सुरक्षित स्थानमा सरेर बसिरहेको छ। त्यस्तै, जनकबहादुर मगरको घरमाथिबाट पहिरो खस्दा घरको पर्खालमा क्षति पुगेको छ। मगर परिवार पनि विस्थापित भएर आफन्तकहाँ आश्रय लिएर बसेको छ।

प्रभावित क्षेत्रमा उद्धार तथा अवस्थाको अनुगमनका लागि प्रहरी टोली परिचालन गरिएको छ। स्थानीय तह र सुरक्षा निकायले थप क्षतिको विवरण संकलन तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने काम गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।