लोड हुँदैछ...

मेनु

रंगेलीबाट ३० हजारभन्दा बढी ट्रामाडोलसहित भारतीय नागरिक पक्राउ

रंगेलीबाट ३० हजारभन्दा बढी ट्रामाडोलसहित भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङको रंगेलीबाट ठूलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीले भारतीय नागरिकको साथबाट ३० हजार ५ सय क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड बरामद गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाको सिक्टी थाना, आँपगाछी पञ्चायत–१४ निवासी २५ वर्षीय अभिषेककुमार मण्डल रहेका छन्। उनी भारतीय नम्बर प्लेटको बीआर ३८ एएच ८७९८ नम्बरको मोटरसाइकलमा बोरा राखेर नेपाल प्रवेश गरेका थिए।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा खटिएको टोलीले शनिबार राति करिब ८ः३० बजे रंगेली नगरपालिका–५ भेडुवाथानमा मोटरसाइकल रोकेर जाँच गरेको थियो। शंका लागेपछि नियन्त्रणमा लिन खोज्दा मण्डल भाग्न खोजेका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर मोटरसाइकलको पछाडि राखिएको बोरा खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध फेला पारेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।

बरामद ट्रामाडोल हाइड्रोक्लोराइड ३ हजार ५० पत्ता रहेको छ। एक पत्तामा १० क्याप्सुलका दरले कुल ३० हजार ५ सय क्याप्सुल बरामद गरिएको हो।

बरामद लागुऔषध र मोटरसाइकलसहित मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ।

प्रारम्भिक अनुसन्धानबाट मण्डल लामो समयदेखि भारतीय भूमिबाट नेपालमा लागुऔषध आपूर्तिमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। उनी नेपालभित्रका ‘सप्लायर्स’लाई लागुऔषध पुर्‍याउन आउने क्रममा पक्राउ परेको अनुसन्धानबाट देखिएको छ।

प्रहरीले यस घटनामा ठूलो सञ्जाल सक्रिय रहेको आशंका गर्दै सम्भावित गिरोह र संलग्न अन्य व्यक्तिको खोजी तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।