विराटनगर । विराटनगरमा सुधार गृह पठाउने तयारी गरिएका एक युवकले प्रहरीमाथि नै चक्कु प्रहार गरी कोठा थुनेर बसेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले भर्याङको सहारा लिएको छ ।
आइतबार दिउँसो भएको यो तनावपूर्ण स्थिति करिब एक घण्टापछि मात्र साम्य भएको छ ।
विराटनगर महानगरपालिका–१, ठूलो मिल दक्षिणस्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्ने २९ वर्षीय रुबिण कार्कीले अन्धाधुन्ध चक्कु प्रहार गर्दा दुई प्रहरीसहित तीन जना गम्भीर घाइते भएका छन् । रामेछाप स्थायी घर भई विगत १५ वर्षदेखि विराटनगरमा आमासँग बस्दै आएका कार्की लागूऔषध दुर्व्यसनी हुन् ।
यसरी सुरु भयो घटना
आइतबार दिउँसो करिब साढे ३ बजे कार्कीलाई काठमाडौंस्थित ‘साथीभाइ नेपाल सुधार गृह’ लैजाने तयारी भइरहेको थियो । सुधार गृह जान नमानेका उनले आफैँलाई कोठामा थुनेर आत्महत्याको प्रयास गरेपछि आमाले प्रहरीलाई खबर गरेकी थिइन् ।
खबर पाउनासाथ सीआरभी भट्टाचोकबाट प्रहरी टोली घटनास्थल पुग्यो । सुधार गृहका प्रतिनिधि र प्रहरीले कोठाबाहिरैबाट उनलाई सम्झाउने प्रयास गरिरहेका थिए । तर, उनले अचानक आफ्नो ओछ्यानमा लुकाएर राखेको भान्छाको चक्कु निकालेर नजिकै रहेका व्यक्तिहरूमाथि आक्रमण सुरु गरे ।
युवकको आक्रमणबाट सीआरभी भट्टाचोकका प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घाइते तीनै जनाको टाउकोमा गहिरो चोट लागेको छ । उनीहरूको हाल विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

भर्याङ प्रयोग गरी पस्यो प्रहरी
आक्रमण लगत्तै कार्की पुनः हतियारसहित कोठाभित्र पसेर ढोकामा चुकुल लगाएका थिए । उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी सन्तोष श्रेष्ठ र वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक बेनु कार्कीको नेतृत्वमा थप टोली परिचालन गरिएको थियो ।
बाहिरबाट ढोका खोल्न गरेको आग्रह अस्वीकार गर्दै उनले भित्रैबाट प्रतिकार गर्ने प्रयास गरेपछि प्रहरीले विकल्पको रूपमा स्टिलको भर्याङ प्रयोग गरेको थियो । प्रहरी टोली भर्याङको सहायताले झ्यालबाट भित्र पसेर करिब एक घण्टाको प्रयासपछि उनलाई नियन्त्रणमा लिन सफल भयो ।
पक्राउ परेका कार्कीलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । घटनाको गम्भीरतालाई हेर्दै प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । लामो समयदेखि लागूऔषधको कुलतमा रहेका कारण उनले मानसिक सन्तुलन गुमाएको हुनसक्ने अनुमान गरिए पनि प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।