बिर्तामोड । बिर्तामोड नगरपालिकाले पहिलोपटक आयोजना गरेको ‘बिर्तामोड रोजगार मेला’बाट १६४ जनाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका छन्। दुई दिनसम्म सञ्चालन भएको मेलामा एक हजार ७६ जनाले आवेदन दिएकोमा १६४ जना विभिन्न संस्था तथा कम्पनीमा छनोट भई रोजगारीमा आबद्ध भएका हुन्।
बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित मेलामा दुई हजार ८७१ जनाले अवलोकन गरेका थिए। आवेदन दिएका अन्य व्यक्तिहरूलाई पनि सम्बन्धित रोजगारदाता संस्था तथा प्रतिष्ठानसँग समन्वय गरी आगामी दिनमा रोजगारीका अवसर उपलब्ध गराउने प्रक्रिया अघि बढाइने जनाइएको छ।
मेलामा उत्पादन, सेवा, वित्तीय क्षेत्रलगायत विभिन्न क्षेत्रमा कार्यरत २५ वटा रोजगारदाता संस्था तथा कम्पनी सहभागी भएका थिए। रोजगारको खोजीमा रहेका युवाले प्रत्यक्ष रूपमा कम्पनीका प्रतिनिधिसँग भेटघाट गरी आफ्नो योग्यता, अनुभव र रुचिअनुसार आवेदन दिने अवसर पाएका थिए।
समापन कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईँले रोजगारदाता र रोजगारी खोज्ने युवाबीच समन्वय स्थापित गर्न मेला प्रभावकारी बनेको बताइन्। छोटो तयारीका बाबजुद कार्यक्रम सफल भएको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिइन्।
बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष निर्मल भट्टराईले मेलामा आवेदन दिएका बेरोजगार युवालाई विभिन्न व्यावसायिक प्रतिष्ठानसँग समन्वय गरी रोजगारी उपलब्ध गराउन पहल गरिने बताए। रोजगार प्रवर्द्धनका कार्यक्रमलाई स्थानीय सरकारको नियमित योजनामा समावेश गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रमका अध्यक्ष तथा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले नगरपालिकाको यो पहिलो रोजगार मेला भएको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाइने बताए। उनले स्थानीय तहले पूर्वाधार विकाससँगै सीप विकास र रोजगारी सिर्जनालाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
मेलाका क्रममा उद्योगी–व्यवसायी र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। स्थानीय श्रम बजारको अवस्था, दक्ष जनशक्तिको आवश्यकता तथा रोजगार प्रवर्द्धनका उपायबारे छलफल गरिएको जनाइएको छ।
स्थानीय युवालाई स्वदेशमै रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले आयोजना गरिएको रोजगार मेला बिर्तामोड नगरपालिकाको नयाँ अभ्यासका रूपमा हेरिएको छ। सहभागीहरूले मेला रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने प्रभावकारी माध्यम बनेको बताएका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।