काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिले पाएको अवसर इतिहासमा फेरि कहिल्यै नआउने बताएका छन् ।
मंगलबार काठमाडौंमा सुरु भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा अध्यक्ष लिङ्देनले यस्तो धारणा राखेका हुन् । नयाँ शक्तिका रूपमा उदाएको रास्वपाका लागि यो समय अत्यन्तै महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।
सम्बोधनका क्रममा लिङ्देनले भने, ‘अहिले इतिहासले तपाईंहरूलाई यस्तो अवसर दिएको छ कि, पार्टीको हिसाबले कुरा गर्ने हो भने पार्टीको जीवनमा र व्यक्तिको हिसाबले कुरा गर्ने हो भने यस्तो अवसर कहिल्यै आउँदैन ।’
उनले रास्वपाको काँधमा ठूलो जिम्मेवारी रहेको स्मरण गराउँदै अहिलेको अवसर चुकेको खण्डमा त्यो पार्टीका लागि मात्र नभई सिंगो मुलुकका लागि ठूलो क्षति हुने चेतावनी समेत दिए । ‘यो अवसर चुक्यो भने वा तपाईंहरूले चुकाउनुभयो भने धोका तपाईंको पार्टी र नेतृत्वलाई मात्रै होइन, सिंगो देशलाई हुनेछ,ू लिङ्देनले भने, ूयो मौका पारेर आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्नुहोस्, मेरो शुभकामना छ ।
पछिल्लो समय नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा स्थापित हुन खोजिरहेको रास्वपालाई लक्षित गर्दै लिङ्देनले जनताको अपेक्षा पूरा गर्न र देशलाई सही दिशा दिन सुझबुझका साथ अघि बढ्न सुझाव दिएका छन् ।
रास्वपाले आफ्नो स्थापनाको छोटो समयमै पहिलो ऐतिहासिक महाधिवेशन आयोजना गरेको हो, जहाँ विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथिका रूपमा निमन्त्रणा गरिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।