लोड हुँदैछ...

मेनु

प्रदेश खानेपानी मन्त्री तिलचन पाठकद्वारा आफ्नै क्षेत्रमा करिब २३ करोडका योजना

प्रदेश खानेपानी मन्त्री तिलचन पाठकद्वारा आफ्नै क्षेत्रमा करिब २३ करोडका योजना

विराटनगर । कोशी प्रदेश सरकारका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री तिलचन (चिन्तन) पाठकले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. २ (२) का लागि ठुलो मात्रामा बजेट लगेको पाइएको छ । प्रदेश सरकारको विभिन्न मन्त्रालयगत शीर्षकहरूबाट मन्त्री पाठकले करिब २३ करोड बराबरको बजेट र योजनाहरू लगेका हुन् ।

मन्त्री पाठकले आफ्नै फेसबुकमा सार्वजनिक गरेको विवरण अनुसार अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकालाई केन्द्रित गरी भौतिक पूर्वाधार, कृषि, सामाजिक विकास र पर्यटनका क्षेत्रमा दर्जनौँ योजनाहरू समावेश छन् ।

मन्त्री पाठकले सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार (सडक तथा पुल) निर्माणमा खर्च गर्ने गरी योजना लगेका छन् । भौतिक पूर्वाधारतर्फ मात्रै १५ करोड ६५ लाख भन्दा बढी बजेट विनियोजन गरिएको छ। यसमा मुख्य गरी मदनपुर हम्सा सामुदायिक भवन सिरान हुँदै फर्साबारी सडक (बहुवर्षीय) १ करोड ९५ लाख
ठुलोनेते खोला मोटरेबल पुल, अर्जुनधारा–२ मा १ करोड २० लाख, महानन्द चोक दक्षिण साधुकुटी हुँदै दुइरिङ्गे जाने सडक कालोपत्रे ८० लाख, विभिन्न ग्रामीण सडकहरूको स्तरोन्नति र कालोपत्रेका लागि ४० देखि ६० लाख सम्मका दर्जनौँ योजनाहरूछन् ।

मन्त्री पाठकको योजनामा धार्मिक तथा सांस्कृतिक सम्पदामा पनि उत्तिकै बजेट लगेका छन् । अर्जुनधारा र बुद्धशान्ति क्षेत्रका करिब २५ भन्दा बढी मठमन्दिर, गुम्बा र चर्चहरूका लागि बजेट छुट्याइएको छ। जसमा सिद्धिविनायक गणेश मन्दिर, रामजानकी मन्दिर, दुर्गा पञ्चायन मन्दिर, किराँत सामुदायिक भवन, र चर्चहरूको स्तरोन्नतिका लागि ५ लाख देखि २० लाख सम्मका योजनाहरू छन्।

कृषि मन्त्रालयमार्फत प्राङ्गारिक खेती प्रवर्द्धन, खोरेत रोग नियन्त्रण र सहकारीहरूलाई दूध प्रशोधन तथा मेसिनरी औजार खरिदका लागि बजेट छुट्याइएको छ। यस्तै, सामाजिक विकासतर्फ अपाङ्गता रोकथाम, सामुदायिक क्याम्पसलाई अनुदान, र विद्यालय भवन निर्माणका लागि पनि उल्लेख्य बजेट विनियोजन भएको छ।

उनले भौतिक पूर्वाधार (सडक, पुल, कल्भर्ट)का लागि करिब १५ करोड ६५ लाख, सामाजिक विकास (शिक्षा, स्वास्थ्य, अपाङ्गता) करिब १ करोड ८० लाख, कृषि तथा सहकारीमा करिब १ करोड ३० लाख, पर्यटन, वन तथा वातावरणतर्फ करिब ९० लाख छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।