विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा मध्यराति प्रहरी पुगेको घटनाले राजनीतिक र प्रशासनिक वृत्तमा तरंग उत्पन्न गरेको छ।
प्रहरी र सरकार पक्षले घटनाबारे फरक–फरक दाबी गरेपछि यसको वास्तविकता थप चासोको विषय बनेको छ।
बिहीबार राति करिब ११ बजे विराटनगर–३ स्थित मन्त्री पराजुलीको सरकारी निवासमा प्रहरीको टोली पुगेको थियो। स्रोतले प्रहरी निवासभित्र प्रवेश गरी कोठा–कोठामा खानतलासी गरेको दाबी गरेको छ।
घटना हुँदा मन्त्री पराजुली भने जिल्ला बाहिर थिए। उनले आफू संखुवासभा क्षेत्रमा रहेको र छिमेकी तथा कर्मचारीबाट जानकारी पाएपछि मात्र घटनाबारे थाहा भएको बताए।
‘म त संखुवासभातिर छु। छिमेकीहरूले प्रहरी आएर केही गतिविधि गरेको जानकारी गराएपछि मात्रै थाहा पाएँ,’ पराजुलीले प्रतिक्रिया दिए।
निवासमा रहेका एक कर्मचारीले पनि राति आएको प्रहरी टोलीले केही समयसम्म परिसरमा गतिविधि गरेको बताएका छन्।
घटनाले संघीय संसद्सम्म प्रवेश पाएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा धनकुटाका सांसद राजेन्द्र राईले मन्त्री निवासमा प्रहरीले गरेको भनिएको खानतलासीबारे प्रश्न उठाउँदै सरकारसँग जवाफ मागे।
‘मन्त्री बाहिर रहेका बेला सरकारी निवासमा प्रहरी पुगेर खानतलासी गर्ने अवस्था किन आयो ? के कारणले यस्तो भयो ? सरकारले स्पष्ट पार्नुपर्छ,’ उनले सदनमा भने।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले भने मन्त्री निवासमा छापा मारिएको दाबी अस्वीकार गरेका छन्। उनका अनुसार एक व्यक्ति त्यहाँ लुकेर बसेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली गएको थियो।
‘हामीले छापा मारेका होइनौं। एउटा सूचना आएपछि प्रहरी त्यहाँ गएको हो,’ एसपी कटुवालले भने, ‘सूचना पुष्टि नभएपछि टोली बाहिरबाटै फर्किएको थियो।’ अपराधिक घटनामा संलग्न विमल भट्टराईको खोजीमा प्रहरी मन्त्रीको निवास नजिक मात्र पुगेको उनको दाबी छ ।
तर, प्रहरी निवासभित्र प्रवेश नगरी सूचना गलत भएको निष्कर्ष कसरी निकालियो भन्ने प्रश्नमा उनले थप स्पष्ट जवाफ दिएका छैनन्।
धनकुटाबाट दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित एमाले नेता पराजुली हाल कोशी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन्। मन्त्रीकै सरकारी निवासमा प्रहरी पुगेको घटनाले प्रदेश सरकार र प्रहरी प्रशासनबीचको समन्वय तथा अधिकार प्रयोगबारे नयाँ प्रश्न खडा गरेको छ।
हालसम्म प्रहरीले खोजीको सूचना कसबाट प्राप्त भएको थियो, टोली निवासभित्र प्रवेश गरेको थियो वा थिएन, र घटनाको वास्तविक प्रकृति के थियो भन्ने विषय भने स्पष्ट हुन सकेको छैन।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।