लोड हुँदैछ...

मेनु

अमेरिका–इरान शान्ति सहमतिपछि तेल बजारमा राहत

अमेरिका–इरान शान्ति सहमतिपछि तेल बजारमा राहत

विराटनगर । झण्डै साढे तीन महिनादेखि जारी अमेरिका–इरान युद्ध अन्त्य गर्ने विषयमा दुवै देशबीच प्रारम्भिक शान्ति सहमति भएको घोषणा गरिएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीच युद्ध अन्त्यसम्बन्धी सम्झौता भएको तथा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने जानकारी दिएका छन्।

शरीफका अनुसार दुवै पक्षले लेबननसहित सबै मोर्चामा सैन्य कारबाही स्थायी रूपमा अन्त्य गर्ने सहमति गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्झौता पूरा भएको दाबी गर्दै होर्मुज जलडमरूमध्य पुनः खुला गरिने र अमेरिकी नाकाबन्दी हटाइने बताएका छन्।

सम्झौताका सबै प्रावधान सार्वजनिक गरिएका छैनन्। प्रारम्भिक सहमतिअनुसार इरानको आणविक कार्यक्रम, प्रतिबन्ध तथा अन्य जटिल विषयमा आगामी ६० दिनभित्र थप वार्ता हुने बताइएको छ।

शान्ति सहमतिको घोषणासँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा सकारात्मक प्रभाव परेको छ। होर्मुज जलडमरूमध्य पुनः सञ्चालन हुने अपेक्षाले कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। विश्लेषकहरूका अनुसार युद्ध लम्बिएको भए तेलको मूल्य प्रतिव्यारेल १५० डलरसम्म पुग्न सक्थ्यो। ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९९ डलरमा झरेको छ भने अमेरिकी कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ९२ डलर कायम भएको छ।

अहिले ब्रेन्ट क्रुड करिब ४ प्रतिशतभन्दा बढी घटेको छ। डब्लुटिआई कच्चा तेलको मूल्य पनि झण्डै ५ प्रतिशतले घटेको छ । विश्लेषकहरूले सम्झौतामा शुक्रबार औपचारिक हस्ताक्षर भएपछि तेलको मूल्य अझ स्थिर हुँदै प्रतिव्यारेल ७०–७५ डलरको दायरामा आउनसक्ने अनुमान गरेका छन्। तर, क्षेत्रीय तनाव पुनः बढे बजार फेरि अस्थिर बन्न सक्ने जोखिम भने कायम रहेको छ।

फेब्रुअरी २८ देखि सुरु भएको युद्धका कारण होर्मुज जलडमरूमध्य बन्द हुँदा विश्वव्यापी तेल तथा ग्यास आपूर्तिमा गम्भीर असर परेको थियो। हालको सहमतिलाई मध्यपूर्वमा तनाव कम गर्ने महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ। (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।