विराटनगर । कोशी प्रदेशका पाँच जिल्लाका करिब ५० जना किशोरीहरू भेलाभई नीति सम्वादमा सहभागी भएका छन् । शनिबारबाट विराटनगरमा किशोरीसँग उपसभामुख कार्यक्रम अन्तरगत किशोरी नेतृत्व विकास तथा नीति संवाद सुरु भएको हो । कोशी प्रदेशसभा सचिवालयको सहयोगमा संचालित दुई दिने कार्यक्रममा किशोरीहरूले प्रत्यक्ष रूपमा प्रदेशका नीति निर्माताहरूसँग आफ्ना समस्या र सुझाव राख्ने अवसर पाएका छन् ।
कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले किशोरीसँग उपसभामुख कार्यक्रमले किशोरीहरूको नेतृत्व विकास र नीति निर्माणको तहमा उनीहरूको आवाज पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गनरे । राज्यले महिला र किशोरीका पक्षमा धेरै नीति र कानुनहरू बनाए पनि ती कानुनहरूको प्रभावकारी कार्यान्वयनमा अझै पनि धेरै चुनौती र कमजोरीहरू रहेको उनले बताए । समाजमा अझै पनि छोरा र छोरीबीचको विभेद कायम रहेको उल्लेख गर्दै सभामुख विष्टले छोरीहरूलाई शिक्षा, स्वास्थ्य र अवसरमा समान प्राथमिकता नदिएसम्म समृद्ध समाजको परिकल्पना गर्न नसकिने भन्दै जोड दिए । किशोरीहरूले आफ्नो अधिकारका लागि कानुनको अध्ययन गर्नुका साथै आफूलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न स्वयम् सचेत र जुझारु हुनुपर्ने उनको सुझाव थियो ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण किशोरीहरू साइबर हिंसाको सिकार भइरहेको भन्दै यसबाट जोगिन र प्रविधिको सही सदुपयोग गरी ज्ञान आर्जनमा लाग्न उनले आग्रह गरे ।
उपसभामुख सिर्जना दनुवारले प्रदेशसभाको इतिहासमै पहिलोपटक यसरी किशोरीहरूलाई प्रत्यक्ष सहभागी गराएर संवाद थालिएको बताइन् । उनले भनिन्, “किशोरीका समस्या, भोगाइ र आवश्यकतालाई नीति निर्माणको तहमा पुर्याउन यो संवाद कोशेढुङ्गा सावित हुनेछ । यहाँबाट आउने निष्कर्षलाई हामीले नीतिगत रूपमा सम्बोधन गर्ने प्रयास गर्नेछौँ ।” आइतबार हुने संवाद सत्रमा किशोरीहरूले उपसभामुखसँग प्रत्यक्ष प्रश्नोत्तर गर्नेछन् ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले दाइजो प्रथा र बालविवाह जस्ता सामाजिक कुरीति अन्त्य गर्न शिक्षा नै प्रमुख अस्त्र भएको बताए । आफ्नो पारिवारिक उदाहरण दिँदै उनले भने, “छोरीहरूलाई शिक्षित र आत्मनिर्भर बनाउँदा दाइजोको कुनै स्थान रहँदैन । कानुनले धेरै अधिकार सुरक्षित गरेको छ, तर त्यसको कार्यान्वयनका लागि किशोरीहरू स्वयम् सचेत र जुझारु बन्नुपर्छ ।” उनले राष्ट्र निर्माणको हरेक तहमा किशोरीहरूको नेतृत्वदायी भूमिका आवश्यक रहेको उल्लेख गरे ।
प्रदेश सरकारले किशोरीहरूको सशक्तीकरणका लागि ‘सक्षम छोरी’ र ‘म अघि बढ्छु’ जस्ता महत्त्वपूर्ण कार्यक्रम ल्याएको उनले जानकारी दिए ।
कोशी प्रदेशसभाका सचिवालयका सचिव सुदर्शन खड्काले किशोरीहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माणको विधि र उनीहरूका संवैधानिक अधिकारबारे जानकारी गराउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । उनले किशोरीहरुको अधिकार र सुरक्षाका लागि सरकार र सबै पक्षबाट सहयोग गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्काले सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याएको साइबर अपराधप्रति किशोरीहरू सजग रहनुपर्ने बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।