लोड हुँदैछ...

मेनु

हाम्रो गाडी एक्सप्रेस वेमा छ, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन शाह

हाम्रो गाडी एक्सप्रेस वेमा छ, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन शाह

विराटनगर । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले सरकार सञ्चालन र कार्यशैलीमाथि उठ्ने गरेका प्रश्नहरूको आफ्नो मौलिक शैलीमा जवाफ दिएका छन्।

चितवनमा आयोजित रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारको यात्रा एक्सप्रेस वे मा गुडिरहेको गाडी जस्तै भएको र यसको उद्देश्य तथा गन्तव्य स्पष्ट रहेको बताएका छन्।

सम्बोधनको सुरुमा ठट्टा गर्दै नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै उनले प्रतिनिधि तथा विशिष्ट अतिथिहरूलाई स्वागत गरे। रास्वपा सभापति रवि लामिछानेसहित उपस्थित नेताहरूको मञ्चबाट सम्बोधन गर्दै उनले देश परिवर्तनको तीव्र हुटहुटीका कारण नयाँ राजनीतिक शक्तिहरूको उदय भएको र यसलाई संस्थागत गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरे।

हाम्रो गाडी अनियन्त्रित छैन

विभिन्न राजनीतिक दलका नेताहरूले रास्वपाको कार्यशैलीप्रति लक्षित गर्दै गाडीमा गतिसँगै ब्रेक पनि आवश्यक पर्ने भनी दिएको सल्लाहप्रति प्रधानमन्त्री शाहले कडा जवाफ फर्काए। ‘धेरैले सरकार भनेको गाडी जस्तै हो र यसमा ब्रेक लगाउनुपर्छ भनी चिन्ता व्यक्त गर्नुभएको छ,’ शाहले भने, ‘त्यस्तो चिन्ता लोकल सडकमा हिँड्दा मात्र सान्दर्भिक हुन्छ। तर हाम्रो गाडी एक्सप्रेस वे (हाइवे) मा गुडिरहेको छ। यो अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र यसको ब्रेक लाग्छ।’ उनले शुभचिन्तकहरूको चिन्ताका लागि धन्यवाद दिँदै नयाँ पुस्ताको परिवर्तनको चाहनालाई कसैले रोक्न नसक्ने दाबी गरे।

प्रधानमन्त्री शाहले रास्वपा प्रतिशोध साध्ने पार्टी नभएको स्पष्ट पारे। विगतमा भएका कतिपय कमजोरी र सरकारी सम्पत्तिको दोहनलाई सच्याउँदै कानुनको परिधिभित्र रहेर काम गरिने उनले बताए। ‘हामी नियम कानुन मिच्दैनौँ, विधिको शासनभित्रै बसेर काम गर्छौँ। हाम्रो कार्यशैली आउट अफ कन्ट्रोल छैन,’ उनले थपे। उनले वर्तमान कार्यकालमै सुशासन कायम गर्ने तथा सहकारी लगायतका समस्या समाधान गर्ने र आगामी निर्वाचनमा नयाँ एजेन्डासहित जनतामा जाने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रियता र सीमा विवादबारे स्पष्टीकरण

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रवाद र राष्ट्रियताप्रति शङ्का नगर्न आग्रह गरे। गत जेठ १७ गते प्रतिनिधि सभाको रोस्ट्रमबाट सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर भएको आलोचना र संशयबारे स्पष्ट पार्दै उनले छिमेकी राष्ट्रसँग आफैँ वार्ता गरेर समस्या सुल्झाउन नेपाल सक्षम रहेको बताए। ‘हामी हाम्रो छिमेकीसँग आफैँ कुरा गरेर समस्या मिलाउँछौँ। हामीसँग पर्याप्त प्रमाणहरू छन्, आवश्यक पर्दा ती प्रमाणहरू बाहिर ल्याउँछौँ,’ उनले भने। भारतसँगको सीमा विवाद समाधानका लागि सरकारले बेलायत (ब्रिटिस)को मध्यस्थता नखोजेको स्पष्ट पार्दै उनले थपे, ‘ब्रिटिसले शासन गर्दाको ऐतिहासिक दस्तावेज र प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ मात्र भनिएको हो, उनीहरूलाई मध्यस्थकर्ता राख्न खोजिएको होइन।’

गुटबन्दी नगर्न सुझाव

पार्टीभित्र चल्ने गरेको गुट(उपगुटको चर्चालाई सङ्केत गर्दै शाहले राम्रो नेता बन्नका लागि कुनै निश्चित समूहको मात्र नभई आम जनताको आस्था र विश्वास जित्नुपर्ने बताए। ‘कुनै एउटा समूहको माया जितेर मात्र असल राजनीतिज्ञ बन्न सकिँदैन। पार्टीभित्र गुटबन्दीको बिउ रोप्ने काम कसैले नगरौँ,’ उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।