सुकुना माध्यमिक विद्यालयले मनायो ५३ औँ वार्षिकोत्सव

विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका – १० मा रहेको सुकुना माध्यमिक विद्यालयको ५३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । सोमबार विद्यालयको प्राङ्गणमा एक भव्य समारोहका बिच दिवस मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मातृका प्रसाद ढकाल सभापतित्व तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न छ।रोबट बाट उद्घाटन गरिएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले विद्यार्थीहरूलाई गुणस्तरीय र व्यावहारिक शिक्षा प्रधान गरी दक्ष,सक्षम र नैतिकवान् नागरिक तयार गर्नु हामी सबैको जिम्मेवारी र दायित्व रहेको बताए। सार्वजनिक शिक्षाको रूपान्तरण,वातावरणमैत्री हरित शैक्षिक संस्थाको निर्माण,गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार,अनुसन्धान र ज्ञानमा आधारित उच्च शिक्षा दिनुपर्नेमा जोड दिएका थिए।

शैक्षिक विकासका लागि सुकुना माध्यमिक विद्यालयले निर्वाह गरेको भूमिकाको उनले खुलेर प्रशंसा गरेका थिए। उनले समयको आवश्यकतालाई मनन गर्दै कोशी प्रदेशको मात्र नभएर मुलुकै नमुना विद्यालयको रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्नेमा आफू ढुक्क रहेको बताए। उनले विज्ञान तथा प्रविधि प्रदर्शनीहरूको अवलोकन समेत गरेका थिए।

सुन्दरहरैचाका नगर प्रमुख कदर प्रसाद गुरागाईँले नगरपालिकाको सहयोगमा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको लागि डे केयर अन्तर्गत सञ्चालन गरेको विद्यालयले विशेष गरी शिक्षा अन्तर्गत सुस्तश्ववण कक्षा,खुल्ला शिक्षा प्राविधिक धार कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ, कक्षा ११ र १२ मा विज्ञान,व्यवस्थापन,शिक्षा,होटेल म्यानेजमेन्ट ,कानुन विषय पठनपाठन गरिरहेको भन्दै यो शैक्षिक क्षेत्रको विकासमा एकमै प्रशंसनीय भएको बताए।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर बस्नेतले प्रविधियुक्त गुणस्तरीय शिक्षा सहितको सुन्दर सुकुना बनाउने सङ्कल्प पूरा गर्न निरन्तर अगाडि बढिरहेको बताएका थिए।प्रधानाध्यापक बस्नेतले सिकाइमा प्रविधिको प्रयोग,निरन्तर अभ्यास र परियोजनामा आधारित सिकाई र मूल्याङ्कन तथा सुविधायुक्त भौतिक र शैक्षिक वातावरण तयार गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने विद्यालयको मुख्य ध्येय रहेको बताएका थिए।

२ वटा छात्र बास भवन निर्माणको लागि स्वीकृत भई हाल निर्माण प्रक्रियामा रहेको बताउँदै उक्त भवन निर्माण पूरा भएपछि भौतिक सुविधाका दृष्टिले विद्यालयको व्यवस्थापनमा सहयोग पुग्ने बताएका थिए। ३ कोठे शैक्षिक भवनको पनि रोबट बाटै उद्घाटन गरिएको थियो।

नेपाल सरकारबाट मान्यता प्राप्त नमुना विद्यालयअन्तर्गत पर्ने यस शैक्षिक संस्थामा कक्षा १२ सम्म पढाइ हुने गरेको छ भने हाल १६० जना शिक्षक तथा शिक्षिका र ४ हजार ५ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

सोमबार, ०१ पुष, २०८१, रातीको ०९:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर