विराटनगर । रोमानिया पठाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ परेपछि झापा र मोरङका सयौँ युवामाथि भएको संगठित वैदेशिक रोजगार ठगी सार्वजनिक भएको छ।
विदेशमा उज्ज्वल भविष्य खोज्दै ऋण, गरगहना र सम्पत्ति धितो राखेर रकम जुटाएका पीडितहरू अहिले आर्थिक संकट, मानसिक तनाव र अन्योलपूर्ण भविष्यको सामना गर्न बाध्य भएका छन्।
मोरङको रतुवामाई नगरपालिका–८ का ३७ वर्षीय उद्धव पाठकले सञ्चालन गरेको ‘के एस ए’ म्यानपावरमार्फत रोमानिया पठाइदिने भन्दै सयौँ युवाबाट करोडौँ रुपैयाँ असुली गरेको आरोप लागेको छ। पाठक र उनका लेखापाल अभि भण्डारी पक्राउ परेपछि इलाका प्रहरी कार्यालय सिजुवामा पीडितहरूको भीड लाग्न थालेको छ।
प्रहरीका अनुसार हालसम्म १५० भन्दा बढी पीडितले औपचारिक उजुरी दिएका छन्। किटानी जाहेरीका आधारमा मात्रै ठगी रकम ३ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ। अझै उजुरी आउने क्रम जारी रहेकाले पीडितको संख्या र ठगी रकम दुवै बढ्न सक्ने प्रहरीको अनुमान छ।
झापाको कमल गाउँपालिका–१ का पवन कार्कीले रोमानिया जानका लागि साढे ७ लाख रुपैयाँभन्दा बढी बुझाएका थिए। भिसा र टिकट तयार भएको विश्वासमा उनी भारतको नयाँ दिल्ली पुगे। तर, विमानस्थलमै टिकट नक्कली भएको खुलेपछि उनको सपना चकनाचुर भयो। पुनः काठमाडौंबाट उडाइदिने आश्वासन दिइए पनि अन्ततः उनीसहित अन्य युवाहरू निराश भएर घर फर्किन बाध्य भए।
उर्लाबारीका आशिष कार्कीले चार वर्षअघि रोमानिया जाने आशामा दुई लाख रुपैयाँ बुझाएका थिए। तर, न विदेश जान पाए, न रकम नै फिर्ता पाए। उनी अहिले पनि विभिन्न निकाय धाउँदै न्यायको खोजीमा छन्।
प्रहरी अनुसन्धानले पाठकले रोमानियामा समेत आफ्नो सञ्जाल विस्तार गरेको देखाएको छ। त्यहाँ नेपाली कामदारलाई राख्ने ‘नेपाली होस्टल’ सञ्चालन गरी अतिरिक्त रकम असुल्ने गरेको आरोप छ। केही पीडितका अनुसार उनले ठगीबाट संकलित रकम विलासी जीवनशैलीमा खर्च गरेका थिए।
यस प्रकरणले वैदेशिक रोजगारीको नाममा गाउँगाउँसम्म फैलिएको ठगीको जालो उजागर गरेको छ। विदेश जाने सपनामा ऋण र सम्पत्ति बेचेर रकम जुटाएका सयौँ युवा अहिले ऋणको भारी बोकेर न्यायको प्रतीक्षामा छन् भने प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा थप अनुसन्धान जारी राखेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।