विराटनगर । साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा दबाब कायम रहँदा नेप्से परिसूचक लगातार दोस्रो दिन घटेर बन्द भएको छ। बजार सूचक ओरालो लागे पनि लगानीकर्ताको सक्रियता भने बढेको देखिएको छ।
शुक्रबार नेप्से परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स १.७७ अंक, फ्लोट इन्डेक्स ०.७१ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६२ अंकले घटेको छ।
बजार घटे पनि कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो दिन ४ अर्ब ७० करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३५१ कम्पनीका १ करोड २७ लाख ३२ हजारभन्दा बढी कित्ता सेयर ५५ हजार ४६७ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ५ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ पुगेको छ।
यस दिन कालिञ्चोक हाइड्रोपावरले लगातार तेस्रो दिन सकारात्मक सर्किट कायम गर्दै लगानीकर्ताको ध्यान तानेको छ। कम्पनीको सेयर मूल्य ९८ रुपैयाँ ८० पैसा बढेर ७५७ रुपैयाँ ६० पैसामा पुगेको छ। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ९.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै, सिटी होटलको १९ करोड रुपैयाँभन्दा बढी र १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहतर्फ मिश्रित अवस्था देखिएको छ। १३ मध्ये चार उपसमूहको परिसूचक बढ्दा नौ उपसमूह घटेका छन्। वित्त उपसमूह सबैभन्दा बढी २.७७ प्रतिशतले उकालो लागेको छ। होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहमा पनि सामान्य सुधार देखिएको छ।
लगातार दुई दिनको गिरावटले बजारमा दबाब देखिए पनि कारोबार रकम बढ्नुले लगानीकर्ताको सहभागिता अझै सक्रिय रहेको संकेत गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।