लोड हुँदैछ...

मेनु

रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ

रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ

विराटनगर । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

शव फेला परेको करिब १० दिनपछि प्रहरीले घटनाको अनुसन्धान निष्कर्षमा पुर्‍याउँदै मुख्य आरोपितलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्ति झापाको दमककै बसेर मजदुरी गर्ने ३० वर्षीय पण्डित थरका रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरुको बारेमा आजै पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीको भनाइ छ ।

पक्राउ परेका व्यक्ति दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानको काम गर्दै आएका व्यक्ति भएकोक बताइएको छ । मृतक रमा तिवारी र आरोपितबीच पुरानै चिनजान रहेको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानका क्रममा दुवैबीच भेटघाट हुने गरेको र घटनाको दिन पनि उनीहरू सँगै रहेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार आर्थिक लेनदेन र व्यक्तिगत विवादका कारण विवाद चर्किएपछि आरोपितले तिवारीको घाँटी थिचेर हत्या गरेको देखिएको छ।

प्रहरीका अनुसार हत्या गरेपछि घटनालाई लुकाउन शवलाई मोटरसाइकलमा राखेर दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि लगेर फालिएको थियो। घटनामा प्रयोग गरिएको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र पोको पारिएको अवस्थामा युवतीको शव फेला परेपछि घटनाले व्यापक चर्चा पाएको थियो। शवको पहिचान भएपछि प्रहरीले मोबाइल विवरण, प्राविधिक विश्लेषण, स्थानीय सूचना तथा अन्य प्रमाणका आधारमा अनुसन्धान तीव्र बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।