पाँचथर । नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राईले पार्टी परित्याग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले नेपाली कांग्रेससँगको आफ्नो राजनीतिक यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन्।
राईले कांग्रेसको साधारण सदस्यतासमेत त्यागेको जनाउँदै अब नयाँ राजनीतिक यात्रामा अघि बढ्ने बताएका छन्। उनी श्रमशक्ति पार्टीमा प्रवेश गर्ने तयारीमा रहेका छन्।
श्रमशक्ति पार्टीका अनुसार राईलाई जेठ २३ गते पाँचथरको फालेलुङ गाउँपालिका–स्थित उनकै गाउँ जेभालेमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङले औपचारिक रूपमा पार्टी प्रवेश गराउनेछन्। उक्त कार्यक्रमलाई भव्य बनाउने तयारी भइरहेको पार्टीले जनाएको छ।
सामाजिक क्षेत्रमा समेत सक्रिय राई कांग्रेसको १४औँ महाधिवेशनबाट जिल्ला सह–सचिवमा निर्वाचित भएका थिए। उनले कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा खुलेर वकालत गर्दै आएका थिए।
राईको बहिर्गमनले जिल्लाको कांग्रेस राजनीतिमा प्रभाव पार्न सक्ने आकलन गरिएको छ भने श्रमशक्ति पार्टीका नेता तथा कार्यकर्ता उत्साहित देखिएका छन्। राईले नयाँ पार्टीमार्फत सामाजिक सेवा र राजनीतिक गतिविधिलाई निरन्तरता दिने बताएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।