लोड हुँदैछ...

मेनु

विराटनगर फोहर व्यवस्थापन : २० वर्षे सम्झौता प्रक्रिया रद्द, बेरुजु र खराब रेकर्ड बाधक

विराटनगर फोहर व्यवस्थापन : २० वर्षे सम्झौता प्रक्रिया रद्द, बेरुजु र खराब रेकर्ड बाधक

विराटनगर । विगतमा फोहर व्यवस्थापनमा लापरबाही गरेको र बक्यौता नतिरेको आरोपमा विवादित व्यवसायीको एकल बोलपत्र परेपछि विराटनगर महानगरपालिकाले २० वर्षे दीर्घकालीन फोहर व्यवस्थापन ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ ।
महानगर कार्यपालिकाको बैठकले सार्वजनिक खरिद ऐन २०६३ को दफा २६ बमोजिम ‘नेप्सेम्याक सेवा प्रा.लि.’ को प्रस्तावलाई अस्वीकृत गर्दै प्रक्रिया नै रद्द गरेको हो ।

महानगरले गत चैत ६ गते सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा २० वर्षका लागि नगरको फोहर सङ्कलन, ढुवानी र विसर्जनका लागि बोलपत्र आह्वान गरेको थियो । जसमा ललितपुरस्थित नेप्सेम्याक सेवा प्रा.लि.ले मात्र ई–बिडिङमार्फत प्रस्ताव पेस गरेको थियो । उक्त कम्पनीका अध्यक्ष टीकाराम दाहाल हुन्, जो यसअघि पनि विराटनगरकै फोहर व्यवस्थापनमा विवादित बनेका थिए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालका अनुसार बोलपत्र बुझाउने अन्तिम समयमा प्राविधिक समस्या र सार्वजनिक बिदा परेका कारण अन्य कम्पनी सहभागी हुन नपाएको र एउटा मात्र कम्पनी हुँदा वास्तविक प्रतिस्पर्धा नहुने देखिएकाले ठेक्का रद्द गरिएको हो ।

१० वर्षअघिको पक्राउ गरि ल्याउने पत्र
अहिले प्रस्ताव पेश गर्ने नेप्सेम्याकका अध्यक्ष दाहाल यसअघि ‘वेस्ट म्यानेजमेन्ट ग्रुप नेपाल प्रा.लि. एन्ड जेभी’ मार्फत विराटनगरको सरसफाइमा संलग्न थिए । तर, सम्झौताअनुसार फोहर नउठाएको र जिम्मेवारी पूरा नगरेको भन्दै १७ माघ २०७३ मा तत्कालीन कार्यकारी अधिकृत दीपक कोइरालाले उनलाई पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरेका थिए ।

महानगरको तथ्याङ्कअनुसार दाहाल नेतृत्वको उक्त समूहले महानगरलाई १२ लाख १५ हजार ४५० रुपैयाँ बेरुजु तिर्न बाँकी छ । २०७३ मा भएको सम्झौताअनुसार कर्मचारीको तलबवापतको रकम लिए पनि काम नगरेको महानगरको दाबी छ । महानगरले हाल नेप्सेम्याकलाई ७ दिनभित्र उक्त बेरुजु रकम जम्मा गर्न अल्टिमेटम दिएको छ, अन्यथा धरौटीबाटै असुल गर्ने चेतावनी दिएको छ ।

महानगरको अडान र कम्पनीको प्रतिवाद
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खराब रेकर्ड भएका व्यक्तिलाई पुनः सहरको जिम्मेवारी सुम्पिनु ‘आत्मघाती’ हुने बताए । “विगतमा महानगरका ट्र्याक्टर र ट्राइसाइकलसमेत गायब पारिएको रेकर्ड छ, जसलाई प्रहरी लगाएर फिर्ता ल्याउनुपरेको थियो,’’ प्रमुख कोइरालाले भने, “यस्तो ट्र्याक रेकर्ड भएको मान्छेलाई फेरि २० वर्षका लागि ठेक्का दिन सकिँदैन। चित्त नबुझे अदालत गए हुन्छ, तर सहरलाई जोखिममा पार्न सकिन्न ।”

यता, नेप्सेम्याक सेवा प्रा.लि.ले भने महानगरको निर्णयलाई ‘नियोजित षड्यन्त्र’ भनेको छ । कम्पनीका अध्यक्ष दाहालले एकल बोलपत्र परेकै आधारमा ठेक्का रद्द गर्न नमिल्ने र बेरुजुको विषयलाई बहाना बनाएर आफ्नो साख गिराउन खोजिएको आरोप लगाएका छन् ।

हाल विराटनगरमा दैनिक करिब १०० मेट्रिक टन फोहर उत्पादन हुन्छ । अहिले तीनवटा छुट्टाछुट्टै निजी संस्थामार्फत उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा फोहर सङ्कलन भइरहेको छ । यी संस्थाहरूसँगको सम्झौता आगामी कात्तिकमा सकिँदै छ ।
महानगरले हाल विराटनगर–१६ दरैयास्थित १० बिघा क्षेत्रफलमा रहेको डम्पिङ साइटमा खाल्डो खनेर फोहर पुर्ने प्रविधि अपनाइरहेको छ । तर वर्षायाममा दुर्गन्ध र वातावरणीय जोखिम बढ्ने भएकाले दीर्घकालीन समाधानका लागि नयाँ र पारदर्शी प्रक्रियाबाट पुनः बोलपत्र आह्वान गर्ने महानगरको तयारी छ ।

महानगरले २०७८ कात्तिक ५ गतेदेखि लागू हुने गरी ५ वर्षका लागि तीन वटा निजी संस्थासँग सम्झौता गरेको छ । विराटनगरको उत्तरी क्षेत्र (वडा १, २, ४, ५ र १९) मा फोहोर संकलन र व्यवस्थापनको जिम्मा ‘नेपाल फूलबारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिस प्रालि’ ले पाएको छ । यस सेवाबापत महानगरले उक्त संस्थालाई वार्षिक १० लाख ६६ हजार ६५६ रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै मध्य क्षेत्र (वडा ६ देखि ११ सम्म) को जिम्मा ‘स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल’ नामक संस्थाले लिएको छ । यो संस्थाले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै महानगरसँग प्रतीकात्मक रूपमा मासिक मात्र एक रुपैयाँ लिएर सेवा दिइरहेको छ ।
दक्षिणी क्षेत्र (वडा १२ देखि १८ सम्म) को व्यवस्थापन ‘सगरमाथा मल्टिपल सर्भिस प्रालि’ले गर्दै आएको छ । भौगोलिक दूरी र फोहोरको चापलाई हेर्दै महानगरले यो संस्थालाई वार्षिक ३५ लाख ९९ हजार ९८८ रुपैयाँ भुक्तानी गर्दछ ।

सामान्य ग्राहकका लागि हप्तामा दुई पटक र व्यावसायिक ग्राहकका लागि सातै दिन फोहोर संकलन गर्ने गरिएको महानगरको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख पुनमकुमार दाहालले बताए । ‘‘विराटनगरमा दैनिक करिब १०० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यो सबै फोहोर विराटनगर–१६ दरैयास्थित १० बिघा क्षेत्रफलमा रहेको डम्पिङ साइटमा विसर्जन गरिन्छ,’’ उनले भने । तर, यहाँ चुनौतीहरू अझै बाँकी छन् । हाल यो डम्पिङ साइटमा कुनै स्थायी संरचना छैन । वर्षायाममा दुर्गन्ध फैलने र वातावरणीय जोखिम बढ्ने समस्या छ । ‘‘त्यसैले महानगरले अहिले खाल्डो खनेर फोहोर पुर्ने प्रविधि अपनाइरहेको छ । आगामी दिनमा निजी साझेदार संस्थालाई २० वर्षको लिजमा दिएर महानगरले फोहोर व्यवस्थापनमा दिगो कार्ययोजनासहित अगाडि बढ्ने लक्ष्य राखेको छ,’’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।