विराटनगर । भारतले खुकुलो बनाएको चिया आयात प्रक्रिया पुनः कडाइ गर्न थालेपछि नेपाली चिया निर्यात फेरि संकटमा परेको छ।
भारतीय चिया बोर्डले कोलकातास्थित गोदाममै पुगेर नेपाली चियाको नमुना संकलन गरी प्रयोगशाला परीक्षण सुरु गरेपछि व्यवसायीले नयाँ निर्यात रोक्न थालेका छन्।
नेपालबाट निर्यात भएर भारत पुगेका चियाका प्रत्येक बोराबाट नमुना संकलन गरी परीक्षणका लागि पठाइँदैछ। परीक्षण प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण गर्न नपाइने व्यवस्था गरिएकाले व्यापारीहरू अन्योलमा परेका छन्। हाल कोलकाता पुगेका आधा दर्जनभन्दा बढी ट्रकका करिब ५० हजार किलो चिया भारतीय गोदाममै थन्किएको छ।
यसअघि भारतीय चिया बोर्डले वैशाख १८ गतेदेखि नेपालबाट आयात हुने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात प्रभावित भएको थियो। विरोधपछि भारतले ‘र्यान्डम स्याम्पलिङ’ मात्रै गर्ने लिखित जानकारी दिएसँगै निर्यात सहज बनेको थियो। तर, अहिले पुनः गोदाममै पुगेर नमुना परीक्षण गर्न थालेपछि समस्या दोहोरिएको हो।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भारतीय पक्षको पछिल्लो कदमले नेपाली चिया किनमेल नै प्रभावित बनाएको बताए। उनका अनुसार गोदाममा पुगेपछि चियाको प्रत्येक बोराबाट नमुना संकलन गरी परीक्षण गरिँदा भारतीय व्यापारीसमेत चिया खरिद गर्न हच्किएका छन्।
परीक्षण प्रतिवेदन ढिलो आउने र मापदण्ड नपुगेको अवस्थामा चिया नष्ट हुन सक्ने डरका कारण व्यवसायीले नयाँ निर्यातका लागि प्रक्रिया नै अघि बढाउन छाडेका छन्। यसको प्रत्यक्ष असर अहिले अर्थोडक्स चिया निर्यातमा परेको छ।
नेपालमा वार्षिक करिब २ करोड ६० लाख किलो चिया उत्पादन हुने गरेको छ। त्यसमध्ये झण्डै ९० प्रतिशत अर्थोडक्स चिया निर्यात हुन्छ भने त्यसको ८० देखि ९० प्रतिशत हिस्सा भारतीय बजारमै निर्भर छ। नेपालले उत्पादन गर्ने अर्थोडक्स चियाको अधिकांश भाग भारत जाने भएकाले भारतीय नीतिगत अवरोधले नेपाली चिया उद्योगमा प्रत्यक्ष असर पार्दै आएको छ।
गत वर्ष लुपर कीराको प्रकोपका कारण उत्पादन घटेको अवस्थामा अहिले भारतको नयाँ परीक्षण व्यवस्थाले थप दबाब सिर्जना गरेको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको ११ हजार ३ सय ९३ टन चिया निर्यात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा कम हो।
औपचारिक रूपमा नयाँ निर्णय सार्वजनिक नभएपनि भारतीय पक्षले व्यवहारिक रूपमा पुनः परीक्षण प्रक्रिया कडा बनाएको छ । भारतमा अत्यधिक निर्भर नेपाली चिया क्षेत्रका लागि यो अवस्था पुनः ठूलो चुनौतीका रूपमा देखिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।