लोड हुँदैछ...

मेनु

कोशीका ६ पालिकामा ६ करोडभन्दा बढीको नवप्रवर्तन परियोजना

कोशीका ६ पालिकामा ६ करोडभन्दा बढीको नवप्रवर्तन परियोजना

विराटनगर । कोशी प्रदेश सरकारले स्थानीय तहमा प्रविधि, कृषि, शिक्षा, स्वास्थ्य र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित ६ वटा पालिकामा ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरका नवप्रवर्तन साझेदारी परियोजना सञ्चालन गर्ने भएको छ।

प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमअन्तर्गत इलामको रोङ गाउँपालिका, धनकुटा नगरपालिका, भोजपुरको षडानन्द नगरपालिका, मोरङको सुन्दरहरैँचा नगरपालिका, खोटाङको खोटेहाङ गाउँपालिका र ओखलढुंगाको लिखुपिके गाउँपालिकासँग परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको छ ।

कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलको उपस्थितिमा शुक्रबार आयोजित कार्यक्रममा प्रदेश सरकारका सचिव नारायणप्रसाद रिसाल र सम्बन्धित पालिकाका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार रोङ गाउँपालिकामा ‘उद्यमशीलता तथा कृषि व्यवसाय प्रवर्द्धन परियोजना’ सञ्चालन गरिनेछ, जसका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

धनकुटा नगरपालिकामा ‘डिजिटल स्थानीय आर्थिक सर्वेक्षण तथा ई–मार्केटिङ परियोजना’ सञ्चालन हुने छ, जसमा १ करोड ६५ लाख रुपैयाँ खर्च गरिनेछ भने भोजपुरको षडानन्द नगरपालिकामा प्रविधिमा आधारित शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै, सुन्दरहरैँचा नगरपालिकामा ‘सुशासनसहितको समृद्धिका लागि प्रविधि’ कार्यक्रम १ करोड २६ लाख ७५ हजार रुपैयाँ लागतमा सञ्चालन गरिनेछ।

त्यस्तै, खोटेहाङ गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत ६० लाख रुपैयाँ खर्च गरिनेछ भने लिखुपिके गाउँपालिकामा डिजिटल शिक्षा विकास तथा साक्षरता कार्यक्रम सञ्चालन गर्न ७७ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम र सम्बन्धित पालिकाको साझेदारीमा सञ्चालन हुने यी परियोजनाबाट प्रदेशभरका ४ लाख ५ हजार ९४४ घरधुरी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

सम्झौता समारोहलाई सम्बोधन गर्दै प्रमुख सचिव पौडेलले नवप्रवर्तनमा आधारित यी कार्यक्रमले कोशी प्रदेशको आर्थिक तथा सामाजिक विकासमा नयाँ सम्भावना सिर्जना गर्ने बताए। उनले स्थानीय आवश्यकता अनुसार तयार गरिएका परियोजनाले नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।