विराटनगर । झापा र सुनसरीका विभिन्न नाकामा प्रहरीले लागूऔषधविरुद्धको अभियान तीव्र बनाउँदै छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगरसहित आठ जनालाई पक्राउ गरेको छ। बरामद लागूऔषधको परिमाण र पक्राउ परेकाको संख्या हेर्दा सीमावर्ती क्षेत्र लागुऔषध ओसारपसारको प्रमुख मार्गका रूपमा प्रयोग भइरहेको देखिएको छ।
झापामा मात्रै चार फरक घटनामा छ जनालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। झापा गाउँपालिका–४ सुकुम्बासी बस्ती क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्दै गरेका बिर्तामोड–५ का ३७ वर्षीय कमरुदीन मिया र उनकी २६ वर्षीया पत्नी संजिला शेख मियालाई प्रहरीले शंकाको आधारमा जाँच गर्दा ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको थियो। दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।
यस्तै, झापा गाउँपालिका–५ खाताबस्तीमा सशस्त्र प्रहरी बलको टोलीले बिर्तामोड–६ का ३८ वर्षीय पप्पु यादवलाई १ ग्राम ५१ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
भद्रपुर नगरपालिका–५ नयाँबजारमा भारतबाट नेपालतर्फ आउँदै गरेकी बिर्तामोड–३ की २२ वर्षीया पुष्पा परियारलाई २ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैगरी झापा गाउँपालिका–५ सलिमडाँगीमा मोटरसाइकलमार्फत लागूऔषध ल्याउँदै गरेका दमक–६ का १९ वर्षीय बिमल कार्की र दमक–१ का २० वर्षीय सन्देश कुमाल पक्राउ परेका छन्। बिमलको साथबाट १४ ग्राम ४ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। उनीहरू सवार मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
उता सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा प्रहरीले मोटरसाइकलमा सवार दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल रोकेर जाँच गर्दा चालक उदयपुरको बेलका नगरपालिका–८ का ३३ वर्षीय रञ्जित राई र पछाडि सवार २० वर्षीया मिखी राईको साथबाट ३.८७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध, मोटरसाइकल तथा पक्राउ परेका सबैलाई सम्बन्धित प्रहरी कार्यालयमा राखेर लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको सुरक्षा निकायको भनाइ छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।