विराटनगर । काठमाडौँमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी प्रदेशले कराते विधामा ऐतिहासिक सफलता हासिल गरेको छ ।
पुरुष र महिला दुवै समूहको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कोशी प्रदेश करातेतर्फ समग्रमा च्याम्पियन बन्न सफल भएको हो ।
करातेमा जम्मा १२ वटा स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा कोशी प्रदेशले ३ वटा स्वर्ण पदक एक्लै जितेको छ । स्वर्णका साथै कोशीले ३ रजत र ३ कास्य पदक समेत हात पारेको छ ।
करातेको महिला विधातर्फ कोशी प्रदेशका चेलीहरूले सानदार प्रदर्शन गरे । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषका अनुसार कोशीले महिलातर्फ मात्रै ३ वटा स्वर्ण पदक जितेको छ । स्वर्ण जित्ने खेलाडीहरूमा हिरा आले मगर ४५ केजी तौल समूहकी रहेकी छिन् । त्यसैगरी प्रनिशा नेपालले ५० केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् भने सशिका आले मगरले ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । त्यस्तै, ६० केजी तौल समूहमा प्रकृति गुरुङले कास्य पदक जितेर प्रदेशको पदक तालिकामा योगदान पुर्याएकी छिन् ।
पुरुषतर्फको प्रदर्शन
पुरुषतर्फ पनि कोशीका खेलाडीहरूले कडा प्रतिस्पर्धा गर्दै पदक जितेका छन् । ५७ केजी तौल समूह र काता विधामा प्रमोद राईले २ वटा रजत पदक जितेका छन् । त्यस्तै, ४७ केजीमा निरोज थापा र ६२ केजी तौल समूहमा पुष्पराजले कास्य पदक प्राप्त गरे ।
कराते विधामा कोशी प्रदेशबाट १२ जना खेलाडीहरूले सहभागिता जनाएका थिए । शुक्रबार दिउँसोसम्मको नतिजा अनुसार कोशी प्रदेशले समग्र प्रतियोगितामा ४ वटा स्वर्ण पदक जितिसकेको छ, जसमध्ये ३ वटा स्वर्ण करातेबाट मात्रै आएको हो ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले खेलाडीहरूको यो सफलताले कोशी प्रदेशको शिर उचो बनाएको बताउँदै विजयी खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।