विराटनगर । विश्व वातावरण दिवसको अवसर पारेर पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ मेडिसिनले एक नौलो र प्रशंसनीय अभियानको सुरुवात गरेको छ।
‘एक विद्यार्थी, एक बिरुवा’ नाम दिइएको यस अभियान अन्तर्गत एमबीबीएस प्रथम ब्याचका विद्यार्थीहरूले वातावरण संरक्षणका लागि विशेष प्रतिबद्धता जनाएका छन्।
यस अभियानको सबैभन्दा रोचक र विशिष्ट पक्ष भनेको विद्यार्थी र प्रकृतिबीचको भावनात्मक सम्बन्ध हो। क्याम्पस परिसरमा बिरुवा रोपेका प्रत्येक विद्यार्थीले आफ्नो साढे पाँच वर्षको अध्ययन अवधिभर सोही बिरुवाको रेखदेख र हेरचाह गर्नेछन्। जब उनीहरू डाक्टर बनेर व्यावसायिक जीवनमा प्रवेश गर्नेछन्, त्यतिबेला आफूले हुर्काएको रुखमा आफ्नो नामको ‘ट्याग’ राखेर बिदा हुनेछन्। यसले विद्यार्थीहरूमा जिम्मेवारीबोध र प्रकृतिसँगको सामीप्यता बढाउने विश्वास लिइएको छ।
विविध प्रजातिका बिरुवाको वृक्षारोपण
वृक्षारोपण कार्यक्रममा विभिन्न औषधिजन्य, फलफूल र छहारी दिने बिरुवाहरू रोपिएका छन्। मोरङ जिल्ला वन कार्यालयले उपलब्ध गराएका जामुन, तेजपात, शिरीष, हर्रो र छहारी रुख लगायतका बिरुवाहरू विद्यार्थीहरूले उत्साहका साथ रोपेका थिए।
पुर्वाञ्चल विश्वविद्यालय चिकित्सा संकायका डीन डा. श्याम कुमार मल्लिक र स्कुल अफ मेडिसिनका नवनियुक्त निर्देशक डा. प्रकाश राईले बिरुवा रोपेर अभियानको हौसला बढाएका थिए । कार्यक्रममा कलेजका प्राध्यापक, प्रशासनिक कर्मचारी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
उपप्राध्यापक डा. बालकृष्ण साहका अनुसार यो अभियानले क्याम्पसलाई हराभरा बनाउनुका साथै भविष्यका चिकित्सकहरूलाई वातावरणीय स्वास्थ्यप्रति पनि सचेत गराउने लक्ष्य राखेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।