अनकन्टार जङ्गलमा छोडिए झैँ
एक्लो यात्रु थिएँ
कहिले गन्तव्यको खोजी गर्दै
कहिले एक्लोपनको सारथी खोज्दै
भौतारिरहेको बेला
खै ?
तिमी कहाँबाट टुप्लुक्क आइपुगेउ
तिम्रो आगमनले
मन दोधारे बनाएको छ,
एउटा मन खुसीले पुलपुलुएर
नाबालिक झैँ भएको छ
अर्को मन
अस्तित्व लुटिने त्रासले डराएर
कुनामा लुकेको किशोरी झैं बनेको छ,
त्यसैले
तिमी यसरी आउ,
हावाका वेग छोडेर
शीतल छहारी बनेर
रित्तिएको खुशीमा
स्वार्थरहित साथ बनेर
टुटेको मन
तिम्रो मायाले भरिएको
न्यानो अंगालो लिएर
जोड्न आउ
मलाई भरिनु छ
समेटिनु छ
जोडिनु छ
तिमी भित्रै हराउनु छ
त्यसैले तिमी
पहिलो होइन,
अन्तिम बनेर आउ…