लोड हुँदैछ...

मेनु

उर्लाबारीमा आइतबार पनि विद्यालय खोल्ने नगरपालिकाको निर्णय

उर्लाबारीमा आइतबार पनि विद्यालय खोल्ने नगरपालिकाको निर्णय

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाले विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको छ।

नगर कार्यपालिकाको जेठ १९ गते बसेको बैठकले असार १ गतेदेखि लागू हुने गरी आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

नगरपालिकाका अनुसार आइतबारका दिन खेलकुद, सिर्जनात्मक गतिविधि, सांस्कृतिक कार्यक्रम, अतिरिक्त कक्षा तथा अन्य सह–शैक्षिक क्रियाकलाप सञ्चालन गरिनेछ। शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्लेका अनुसार हप्तामा दुई दिन सार्वजनिक बिदा भएपछि विद्यार्थीहरूको शैक्षिक गतिविधि र अतिरिक्त क्रियाकलाप प्रभावित भएको भन्दै अभिभावक तथा सरोकारवालाबाट लिखित तथा मौखिक गुनासा प्राप्त भएका थिए।

लामो बिदाका कारण बालबालिकामा मोबाइल, टेलिभिजन तथा अन्य डिजिटल सामग्रीको प्रयोग बढ्दै गएको र त्यसले मानसिक तथा व्यवहारिक पक्षमा नकारात्मक असर पार्न थालेको गुनासो आएपछि यस्तो निर्णय गरेको नगरपालिकाले जनाएकको छ । मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते शैक्षिक सत्र २०८३ देखि विद्यालयमा शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

निर्णयपछि विद्यार्थीहरूको विद्यालयसँगको नियमित सम्पर्क कमजोर भएको निष्कर्षसहित उर्लाबारी नगरपालिकाले वैकल्पिक उपाय अपनाएको जनाएको छ। नगरपालिकाले आइतबार विद्यालय सञ्चालन गरी विद्यार्थीलाई खेलकुद, नेतृत्व विकास, सिर्जनात्मक अभ्यास तथा अन्य अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्देश्य राखेको छ। निर्णय कार्यान्वयनका लागि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशनसमेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।