विराटनगर । नेपालमा सशस्त्र जनक्रान्ति र सहरी जनआन्दोलनको संयोजनमार्फत राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर १९ औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ ।
तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा (माओवादी) को सशस्त्र सङ्घर्षको जगमा २०६५ साल जेठ १५ गते निर्वाचित पहिलो संविधानसभाको बैठकले २४० वर्ष लामो शाहवंशीय राजतन्त्रलाई बिदा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ ।
गणतन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ । सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट मार्चपास्ट र विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ ।
दिवसका अवसरमा लोकतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गरिँदैछ । गणतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई यो एक उन्नत शासकीय पद्धति र जीवनशैली पनि हो । यसले नागरिकलाई शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र समानुपातिक समावेशी अधिकारको सुनिश्चितता प्रदान गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।