लोड हुँदैछ...

मेनु

बर्साइत पर्व धुमधामका साथ मनाइँदै

बर्साइत पर्व धुमधामका साथ मनाइँदै

इनरुवा। पतिको दीर्घायु तथा दाम्पत्य जीवनको सुख–समृद्धिको कामनासहित सुनसरीका महिलाले शनिबार बर्साइत (बटसावित्री) पर्व धुमधामका साथ मनाएका छन् । जिल्लाका विभिन्न स्थानमा महिलाहरूले सामूहिक रूपमा पर्व मनाइरहेका छन् ।

सदरमुकाम इनरुवाका विभिन्न वडामा महिलाहरूले वरको रुखमा पहेँलो र रातो धागोले सात फेरा लगाउँदै हर्षोल्लासका साथ बर्साइत पर्व मनाएको इनरुवा–९ बबियाकी बर्तालु ममताकुमारी यादवले जानकारी दिए ।

उनका अनुसार जेठ कृष्णपक्ष आमावस्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक–फरक विधिअनुसार मनाउने परम्परा छ । नवविवाहित महिलाले पहिलो बरसाइत (विवाहपछि पहिलो पर्व) अनिवार्य रूपमा श्रीमान्को घरमै मनाउने चलन रहेको छ ।

शुक्रबार नहाय–खाय (स्नान गरी सात्त्विक भोजन ग्रहण गर्ने) गरेपछि लुगादेखि चुरा–पोतेसम्मका शृङ्गार सामग्री माइतबाट पठाइने परम्परा छ । शनिबार बिहान स्नान गरी रातो, पहेँलो तथा विभिन्न रङका पहिरनमा सजिएर महिलाहरू नजिकैको वरको रुखमुनि बसेर पतिको दीर्घायुको कामनासहित पूजा गरेका छन् ।

वर र पीपल सँगै भएको स्थानमा दुवैको पूजा गर्ने चलन छ भने वर मात्र भएको स्थानमा पीपलको हाँगा गाडेर दुवै वृक्षको प्रतीकस्वरूप पूजा गर्ने परम्परा रहेको छ । पूजा अवधिमा महिलाको भाइले छाता ओढाएर साक्षीका रूपमा उपस्थित रहने चलन पनि छ । महिला पुरोहितले मन्त्र उच्चारण गर्दै वरको जरामा पूजा गर्ने परम्परा रहेको छ ।

अंकुरित गेडागुडी, काँक्रो, केरा, स्याउ, अङ्गुर, आँप, लिची र नरिवललाई प्रसादका रूपमा वरको जरामा चढाइ सिन्दूरले रङ्ग्याइन्छ । त्यसपछि बर्तालुहरूले पतिलाई उभ्याएर वरको रुखमा पहेँलो र रातो धागोले सात फेरा लगाउने चलन छ ।

आँप र कलश लिएर तीन पटक वरको रुख र पतिको परिक्रमा गरिन्छ । परिक्रमा गर्दै गर्दा एकपटक वरको जरामा र अर्को पटक पतिको गोडामा जल चढाउने परम्परा रहेको छ ।

धार्मिक ग्रन्थअनुसार व्रती महिलाले दिनभर उपवास बसेर सावित्रीको पूजा वृक्षमुनि गर्ने तथा अविवाहित युवतीले पनि गीत गाउँदै र लोकनाच गर्दै यो पर्व मनाउने उल्लेख छ ।

बिहान स्नान गरी नदी वा पोखरीमा नुहाएर वरवृक्षमुनि सावित्रीको आराधना गर्दै यो पर्व मनाइन्छ । विभिन्न फलफूल, अक्षता, धूप र दीपसहित महिलाहरूले सामूहिक रूपमा सावित्री, पार्वती र नागको पूजा गर्ने परम्परा छ । धार्मिक कथाअनुसार सावित्रीले आफ्ना मृत पति सत्यवानलाई पुनर्जीवित गराउन यही व्रत गरेको उल्लेख पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।