लोड हुँदैछ...

मेनु

मौलिक संस्कृति र राष्ट्रिय एकताको जग बकर इद

मौलिक संस्कृति र राष्ट्रिय एकताको जग बकर इद

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले हरेक पर्वले नेपालीबिच प्रेम, करुणा, त्याग, सहिष्णुता, सद्‍भाव र राष्ट्रिय एकताको भावना प्रगाढ बनाउँदै लैजाने बताएका छन् ।

बकर इदका अवसरमा शुभकामना दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरे । उनले बकर इदले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले भने, “मुस्लिम समुदायले यस पर्वका अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सनुपर्छ । विश्वास, समर्पण र समाजसेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबिच आपसी सद्भाव, मेलमिलाप र सहअस्तित्व कायम गर्नेछ ।”

यस्ता पर्वले आ-आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुग्ने उनले बताए । विविधताबिचको एकताले नै राष्ट्रिय भावनालाई बलियो बनाउने र आपसी भाइचारा एवं समानताको सन्देश फैलाउन मद्दत पुग्ने उनले उल्लेख गरे ।

यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने बकर इदले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउने बताए । उनले बकर इदले विपन्न तथा सहयोगको आवश्यकता भएकालाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । धार्मिक महत्त्वसँगै सामाजिक र सांस्कृतिक दृष्टिले पनि यो पर्वले सामूहिकता र मानवताको उच्च मूल्यलाई उजागर गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।