लोड हुँदैछ...

मेनु

‘कलमको युद्ध’–भित्रको विजय

‘कलमको युद्ध’–भित्रको विजय

वि.सं.२०७६ साल पुस ३ गते सुनसरीबाट पाँचथर जाने क्रममा इलामको साँखेजुङमा बास बसें । भोलिपल्ट फिदिम पुगेर एकघण्टा पनि नबिताई एकतीनतर्फ लागें र बेलुका जोरपाटीको छेउमा बास बसें ।पुस ५ गते शनिबार हाल फालेलुङ गा.पा. वडा नं–७ पापुन्दिनको आरूबोटे भन्ने ठाउँमा पुगेर बाल्यकालमा छोडेर आएको जग्गाजमिनको रेखदेख वा हेरविचार गरेर साँझमा एकतीन फर्किएँ । एकतीनका दाजुभाइ, साथीभाइ र विद्यार्थीहरूसँग भेटघाट गरेर मच्छेबुङ्ग (मामली) तिर लागें । मच्छेबुङ्गको मा. वि. का कक्षा ९ र १० का विद्यार्थी र गुरूहरूसँग भेटघाट तथा भलाकुसारी गरिवरि मामलमा मेजमान खाएर सिदिनको बाँसबोटेतर्फ प्रस्थान गरें । वडा कार्यालयमा मालपोत तिरेर केहि पूराना साथीभाइ, इष्टमित्रसँग भेटघाट गरें अनि नाङ्गीन थापाटार पुगेर पुण्यप्रसाद दुलालसँग साक्षात्कार गरें ।

भोलिपल्ट पिपलबोटे स्कूलका कक्षा ११ र १२ का विद्यार्थीसँगसमेत साहित्यिक भलाकुसारी गरेर सोहीदिन (पुस–११)फिदिम आईपुगें । जाँदा जोरपाटीमा ट्याक्सी छोडेदेखि फिदिम आईपुगुन्जेलसम्म कुनै सवारी चढ्न पाइएन । पैदल काम तमाम गरेको हुँदा खुट्टाको अवस्था निकै कष्टकर भएको थियो । फिदिम आईपुग्दा साँझपर्न आँटेको हुँदा स्थीर भएर एकतीन लजमा बास बसें । भोलिपल्ट बिहान फ्रेस भएपछि रामप्रसाद उपाध्याय (चापागाईं)ज्यूलाई फोन लगाएँ र घरैमा हुनुहुन्छ भन्ने थाहा पाएपछि म उहाँको घरमा पुगें । साहित्यिक भलाकुसारी र खानपान चल्यो, त्यसपछि उहाँले प्रेम ओझा सरलाई फोन लगाएर ‘आज त शनिबार पनि हो, कता के मा ब्यस्त सर ? सुनसरीबाट साहित्यकार रामसागर अधिकारीजी आउनुभएको छ, ३ बजेतिर कविकुनोमा भेला हुनका लागि फिदिमका स्रष्टाहरूलाई, स्रोताहरूलाई तपाईं पनि फोन लगाउनूू होला, म पनि लगाउँछु, आज जम्नुपर्छ, सुन्नुसुनाउँनु पर्छ’ भन्नुभयो । प्रेमसरसँग उपाध्यायकै मोवाईलबाट अभिवादन गरें र अपरान्ह भेट हुने प्रतिक्रिया पाएँ । नभन्दै ३ः१५ बजेतिर प्रेम ओझा, मधु केरूङ, शंकर आत्मा, धनपति कङ्गाल (ढुङ्गेल), गिरिराज बाँस्कोटा, रामप्रसाद चापागाईं लगायत दर्जनौं स्रष्टाहरूको जमघट भएको थियो ।

रचना सु्न्ने सुनाउने र कृतिहरू आदान–प्रदान गर्ने क्रममा ढुङ्गेलजीले समालोचनाको आग्रहसहित यो पुस्तक मेरो हातमा दिनुभएको हो । कार्यक्रम सकिएपछि बिदावारी भएर एकतीन लजमै बास बसें । एकतीनका हेम खत्रीसँग सँयोगले त्यो रात एकै कोठामा बस्नुपर्ने भयो । खाना खाएर हामी कोठामा गयौं र ओछ्यानमा बसेर यसमा रहेका गजलहरू पढ्दै जाँदा हाँस पनि उठ्यो । अनि हेमजीले सुनाएर पढ्न भनेपछि मुख खोलेर लयमा पढ्न सुरू गरें । एकपछि अर्को गर्दा–गर्दै करिव ३ घण्टामा सबै (५९ वटा) गजल पढिसकेर १२ वजे राति सुतेका थियौं । १३ गते आइतबार मालपोत कार्यालय पाँचथरमा सानो काम सकेर ईलाम आउने ट्याक्सीमा रक्सेसम्म आएर साँखेजुङ्गमा बास बसें । भोलिपल्ट हिंड्न रोकिदिएपछि म पुस १५ गते साँखेजुङ्गबाट सुनसरीतर्फ झरें । यात्रारत रहेको हुँदा खिचडी खाँन अनुकुल भएन । अनेकौं कार्य–ब्यस्तता र चुनौतीका वावजुद पनि मैले यस गजलसंग्रहको समालोचना लेख्ने नै सङ्कल्प गरेको हुँदा समय दिँदा–दिंदै केहि ढिलै भएता पनि लेखिसिध्याएँ । वि. स. २०२४ साल भदौ–१ गते झापाको क.न.पा.–८ शित्तल चौकमा बाबु रामचन्द्र ढुङ्गेल र आमा लीलादेवी ढुङ्गेलको पुत्रको रूपमा पैदा भएका गजलकार ढुङ्गेल हाल पाँचथरको सदरमुकाम फिदिम बजारमा व्यापार–व्यावसाय गरेर बस्नुभएको छ । नाम धनपति र टाइटल कङ्गाल राख्ने ढुङ्गेलज्युको सोचविचार र संस्कार एवं लेखन शैलीमा आफ्नै विशेषता रहेको देखिन्छ ।

धनपतिज्यूको यो पहिलो कृति गजल विधामा जन्मिएको भएता पनि पहिलो जस्तो लाग्दैन, परिपक्वताको कमि देखिंदैन । मेरो छैटौं कृतिको रूपमा प्रकाशित हुने समालोचनासंग्रहमा गजल विधाका २ वटा कृतिमध्ये एउटा पुरूषको र अर्को महिलाको राखौं भन्ने ठहर अनुसार पूर्वबाट धनपति कङ्गालको यो ‘कलमको युद्ध’ र पश्चिम (काठमाण्डौं) बाट शान्ति शर्माको ‘अम्लान फूल’ नामको गजलसंग्रहको समालोचना समेटेको छु ।

समालोचना भनेको परिश्रम र त्यागबाट गरिने साहित्य सेवा हो भन्दा फरक पर्दैन । पैसा र पर्सनालिटि हेरेर कृति नपढी व्यक्ति स्तुती लेख्नेको बाढी आएको छ । दानदक्षिणा, मिलेमतो, पारपाचुके र चोरी गर्दै साहित्यमा व्यापार गर्ने बनियाँहरूको बिगबिगि भएको यो दूर्गन्धित अवस्थामा वास्तविक लेखक, सर्जक, समीक्षक र समालोचकलाई आफ्नो अस्तित्व जोगाउन धौ–धौ छ । तर, यसो हुँदैमा कसैले हरेस खाँनु हुँदैन । सिर्जनाको मूल्याङ्कन त सर्जकलाई नचिनेको बौद्धिक पाठकले गरोस्, निःस्वार्थी समालोचकले गरोस् तव भाषा, साहित्य, सर्जक, पाठक र सिकारू समेतले ठूलो ऊर्जा पाउँछन् ।

संस्कृत, नेपाली र हिन्दी भाषाको लिपि एउटै तर शव्द र व्याकरणको नियम अलग भएजस्तै ऊर्दू र अरेबिकको पनि लिपि एकै तर शव्द अलगै भएको देखिन्छ । हाईकू भन्ने शव्द जापानिज भाषाको भएजस्तै गजल भन्ने शव्द अरेबिक भाषाको हो । स्वार्थ र संकीर्णताभन्दा माथि उठेर साहित्य सेवा गर्न सिक्नू र सक्नू पर्छ । गज—मृग, अल–शावक, अर्थात् गज्+अल= गजल (मृग शावक) भन्ने परिभाषाले व्यापकता पाउने देखिइसकिएको छ । “गजल भनेको मृगको बच्चाजस्तो अथवा बाख्राको पाठा जस्तो स्नेहिलो, बान्किलो, कसिलो, रसिलो, फूर्तिलो, बडौलो र पवित्र एवं परिवेशपूर्ण हुनूपर्छ” भन्ने परिभाषामा मेरो पूर्ण सहमति छ । असल खराबको वास्ता नगरी विदेशीको डलर पचाउन पल्केकाहरूले व्याकरणमा, साहित्यिक वादमा र गजल संरचनामा समेत पुङ्भाङ्गे परिपाठ कथुरीरहेका छन् । यस्तासँग सबैले बेलैमा सचेत हुन जरूरी छ । दशौं शताब्दीमा इरानमा जन्मिएका दृष्टिविहीन सर्जक रोदकीले अरेबिकमा लेख्न सुरू गरको गजल विधा अरेबिक ऊर्दू , फारसी र हिन्दी हुँदै बनारमा आइपुगेको अवस्थाबाट यूवाकवि मोतिराम भट्टले (वि.सं. १९४२–१९४७ बिचको समयमा) बनारसमा पढेर फर्किंदा नेपाली साहित्यमा भित्र्याएका हुन भन्ने कुरामा विमत्ति हुन सक्दैन । रौदकीले लेखेका गजलमा महिलासँगको संम्वाद छ भन्दैमा ‘महिलासँग गरिने संम्वाद हो’ भनेर गजललाई संकीर्णतामा राख्न मिल्दैन, यदि रौदकीको ठाउँमा, फतिमा फरिश्ता वा जुलेखा नाम गरेका महिलाबाट लेखन सुरू भएकोभए ‘पुरूषसँग गरिने कोमल संम्वाद’ भनिन्थ्यो होला ।

त्यसैले स्वार्थ र संकीर्णताबाट टाढा रहेर फराकिलो सोचविचारबाट गजलको परिभाषा गर्ने हो भने “विपरितलिङ्गीसँग गरिने कोमल सम्वाद नै गजल हो’ भन्ने परिभाषालाई धेरै हदसम्म स्वीकार्न सकिन्छ तर पूरै होइन । “न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई, बिनाअर्थ दिलमा सजाएँ तिमीलाई” भन्ने गजल महिलाले गाउँदा मात्र प्रभावकारी गजल भयो, पुरूषले गाउँदा गजलै भएन अथवा प्रभावकारी भएन भन्ने कुरा हैन र हुन पनि सक्दैन । बाइसौं सताब्दीको संघारमा बिरालो बाँधेर सराद गर्ने गरिइंदैन र गर्नुपनि हुँदैन । गजलको परिभाषालाई विषय केन्द्रित गरेर ठिङ्¥याउन पाइँदैन, संरचना केन्द्रित गरेर बढिरहने, फूलिरहने र फैलिरहने स्वच्छ र पवित्र वातावरण मिलाउनु सबै साहित्यप्रेमीहरूको कर्तव्य हो र हुनुपर्छ । व्याकरणमा विकृति भित्र्याएर गीत र कवितामा स्तर झरे जस्तै गजलमा पनि विकृति भित्र्याएर गजललाई समेत तहसनहस पार्ने बिकुवाहरू सल्वलाइरहेका छन, हो यस्तासँग सतर्क रहन जरूरी छ ।

गजल छन्दमा (बहरमा) अथवा लयमा लेख्न जरूरी छ, गीत गेय विधा भएजस्तै गजल पनि गेय विधानै हो र हुनुपर्छ । गजलमा २ हरफको १ श्लोक (सेर) हुन्छ । गजललाई ४–७ श्लोकसम्ममा लेखिएको पाइन्छ, गजल गेय विधा भएको हुँदा ३–५ मिनटमा (टुडियोको टाइम) गाएर सकिने हुनुपर्छ, सरल, कोमल, हृदयस्पर्शी एवं भाव सन्देश र परिवेशपूर्ण हुनुपर्छ, शिष्ठ, संयमित र सुवोध्य हुनुपर्छ । कविता गीत रगजलमा निकै अन्तर छ । त्यसमा पनि कविता र गीतमा जस्तो सम्बन्ध वा सामिप्यता रहन्छ, त्यस्तो सम्बन्ध वा सामिप्यता कविता रगजलमा अथवा गीत र गजलमा हुँदैन र हुनपनि सक्दैन । स्तरीय कविता गीत बन्न सक्छ, सबै कविता गीत बन्न सक्दैनन् । गजल गीत वा कविता हैन र हुन पनि सक्दैन, गजल गजलै हो र गजलै रहिरहने छ । कविता र गीतमा जस्तो गजलमा अनुप्रास बदल्न पाइँदैन । सुरूको हरफमा जहाँ र जस्तो अनुप्रास (काफिया÷रदिफ) प्रयोग गरिन्छ दोस्रो हरफमा पनि त्यहीं र त्यस्तै अनुप्रास प्रयोग गर्नैपर्छ । पहिलो हरफभन्दा बाँकी बिजोडी हरफमा अनिवार्य रूपमा अनुप्रास भङ्ग गर्नैपर्छ तर बाँकी जोडी हरफहरूमा सुरूको हरफको जस्तै र त्यही ठाउँमा अनुप्रास मिलाउनै पर्छ । अन्त्यमा मिलाइएको अनुप्रासलाई ऊर्दूमा काफिया भनिन्छ भने मध्यमा (बिचमा) मिलाइएको अनुप्रासलाई रदिफ भनिन्छ । भाव वा सारको हिसाबले काफिया र रदिफमा केही फरक नरहे तापनि प्रहार र मिठास एवं कुड्किलो (स्टेप) का हिसाबले अन्त्यानुप्रास भन्दा मध्यानुप्रास मिलेको गजल स्वादिलो चोटिलो र स्मरणयोग्य हुनेगर्छ । गजलमा पनि दोहोरी हुनसक्छ र हुनुपनि पर्छ ।

आवरण पृष्ठ बाहेक जम्मा ६४ पृष्ठ रहेको यस पुस्तकमा अन्त्यमा १ पृष्ठ खाली छोडिएको छ भने यस पुस्तकसँग सम्बन्धित अन्य विषयवस्तुले ४ पृष्ठ ओगटेको छ । बाँकी ५९ पृष्ठमा खण्ड क र ख गरेर जम्मा ५९ वटा गजलहरू संग्रहित गरिएका छन् । यसमा प्रकाशकीय, शुभकामना, भूमिका समर्पण र गजल क्रमसूची समेत समावेश गरिएको छैन । मिनी साइजमा निकालिएको यस पुस्तकमा २ पृष्ठ लेखकीय रहेको छ । प्रकाशक निर्मला ढुङ्गेलको समन्वयमा गौरी पब्लिक रिलेशन एण्ड पब्लिकेशन (काठमाण्डौं) ले वि.सं. २०७६ सालमा ५०१ प्रति प्रकाशित गरेको यस पुस्तकको व्यक्तिगत मूल्य १०५ र संस्थागत मूल्य १५० प्रिन्ट भएको छ । यसमा ५ श्लोकका गजल ३९ वटा, ६ श्लोकका ११ वटा, ४ श्लोकका ७ वटा, ८ श्लोकको एउटा र तीन श्लोकको एउटा समेत जम्मा ५९ वटा गजल संग्रहित रहेका छन् । दुई खण्डमा विभाजन गरिएका गजलहरूमध्ये पहिलो खण्डमा देशभक्तिदेखि लिएर जीवन र जगतका यावत विषयवस्तु समेटेर लेखिएका ४९ वटा गजलरहेका छन् भने दोस्रो खण्डमा समेटिएका १० वटा गजलहरू भने श्रृङ्गारिक रहेका छन् । श्रृङ्गारिक गजलमा मायाँप्रेम, संयोगवियोग, सम्झना, कल्पना, तिर्षणा घातप्रतिघात, धोका, प्रतिक्षा जस्ता कुराहरू गजलको विषयवस्तु बनेका छन् । उहाँका श्रृँगारिक गजलमा पाश्चात्य प्रवृत्तिजन्य विकृति विसँगतिलाई प्रश्रय दिइएको छैन । यसका संग्रहित ५९ गजल मध्ये ५२ वटा गजलमा रदिफ मिलानको प्रयास गरिएको छ भने बाँकी ७ वटा गजलमा काफिया मिलान रहेभएको देखिन्छ । पहिलो खण्डमा संग्रहित ४९ वटा गजलमा विषय विविधता एवं भाव गाम्भीर्यताको प्रचुरता रहेको छ । सरल, कोमल, प्राञ्ज्वल र मौलिक शब्दहरूको प्रयोग गरिएको छ ।

गाउँसमाज तथा देश रूपान्तरणका लागि राम्रा विषयवस्तुको जगेर्ना र नराम्रा विषयवस्तुको विनाश गर्दै सार्वजनिक सरोकारका विषयवस्तुमा वैज्ञानिक पद्धति अपनाउँदै आफ्नोपन र मनको ख्याल राख्दै अपनत्व बचाएर पनि आमूल परिवर्तनको पक्षमा एकाकार हुन र अग्रगमनका लागि होस्टेमा हैंसे गर्न सिक्नु र सक्नुपर्छ भन्ने गजलकारको आग्रह रहेको छ । सामाजिक विकृति विसङ्गतिको विरोध बोलिएको छ, नेताका अकर्मण्यता एवं स्वार्थी, लोभी र पापी तथा राष्ट्रघाती चरित्रको पर्दाफास गरिएको छ । तलदेखि माथिसम्म, दुष्मनदेखि साथीसम्म सबैमा स्वार्थको पहाड देखेका गजलकार स्वार्थ, स्वाङ र सस्तो लोकाचार बाट अवाक भएका छन् ।

माटोको माया, शहीदको मुल्याङ्कन, षोषण, दमन र अन्यायको बिरोध, बेरोजगारीको अन्त्य, स्वोरोजगारीको माग, एकता, अखण्डता, अग्रगमन र शीघ्र विकासको साथै जनताको जीवनस्तर वृद्धिको विषयवस्तुलाई नै गजलमा उतारिएको छ । स्वार्थ र संकीर्णताले उनका गजलमा प्रश्रय पाएको छैन समय बिताउनका लागि अथवा आत्मसन्तुष्टिका लागि अझ भनौं गजलकार बन्नकै लागि मात्र यी गजलहरू रचिएका होइनन्, गाउँसमाज र देश मात्र नभएर मानिसका विचारमा समेत रूपान्तरण र आमूल जनचेतना अभिवृद्धि एवं नेपाल र नेपालीको सुखशान्ति र श्री–वृद्धिमा टेवा पुग्ने यी गजलहरू कोरा काल्पनिक नभएर पूरा यथार्थले सिंचिएका छन्, प्रभावकारी र पठनीय छन् । अश्लील, अपाच्य, अबौद्धिक एवं खोटा शब्द र वाक्यहरूको प्रयोग भएको पाइँदैन । गजलमा देशभक्तिभावको औलोदौलो छ, आमूल परिवर्तनको तीब्र चाहना छ, नेपाल र नेपालीको जीवन्त मायाँ छ, शान्ति र सम्वृद्धिको उद्घोष छ, रूढिवादी कुराहरूलाई प्रश्रय दिइएको छैन् ।

भौतिक र बौद्धिक हिसाबले यस पुस्तकमा खुनखोट लाउने ठाउँ छैन तर पुस्तकको नाम रखाइमा भने ज्योतिषीको दक्षता देखिएन, नाम लामो भयो तर प्रभावकारी वा प्रतिनिधिमूलक भएन । गजलमा कलापक्षको मिलानभन्दा भावपक्षको उडान तीब्र रहेको देखिन्छ । अभ्यास र अनुभवबाट कलापक्षमा खारनिखार ल्याउने हो भने निकट भविष्यमा स्तरीय गजलकारको रूपमा स्थापित हुन अथवा गजलप्रेमीको मनमुटु छुनसक्ने सम्भावना नजिकै देखिन्छ ।

अब धर्मसंकटतिर लाग्दा

(१) कङ्गालज्यूका गजल साहित्यमा कलापक्षको. मिलानभन्दा भावपक्षको उडान तीब्र रहेको देखिन्छ । यो शुभ संकेत हो, किनभने भावबेगरको कलाभन्दा कलाबेगरको भाव नै अब्वल हुन्छ ।
(२) उहाँका गजल कोरा कल्पनामा नबगी सम्भव सम्भावना वा वस्तु यथार्थको धरातलबाट उम्रिएका हुँदा ढुङ्गेलज्यूलाई सामाजिक यथार्थवादी सर्जकको दर्जामा राख्न मिल्छ ।
(३) उनका प्रायः सबै गजलहरूमा पाश्चात्य प्रवृत्तिजन्य विकृतिलाई प्रश्रय दिएको छैन, यो अत्यन्तै उज्यालो पक्ष हो ।
(४) उनका गजलमा गाउँसमाज र देशको चिन्ता छ, शान्ति र सम्वृद्धिको चाहना छ, देशभक्तिको औलोदौलो छ त्यसैले ढुङ्गेलज्यूले राष्ट्रवादी सर्जकको स्थान ओगट्नु भएको छ भन्दा अत्युक्ति हुँदैन ।
(५) सरल, कोमल, प्राञ्ज्वल र सकेसम्म मौलिक शब्दहरू प्रयोग गर्दै सरलताभित्र जटिलता राखेर जनहितोपयोगी सिर्जना गर्नु उनको विशेषता हो ।
(६) भूतको स्मरण र वर्तमानको मुल्याङ्कन वा सदुपयोग गर्दै सुन्दर भविष्यको निर्माणतर्फ शान्तिपूर्वक अथवा गौरवसाथ एकाकार हुन थप ऊर्जा दिनु यस कृतिको उदेश्य हो भन्दा फरकै पर्दैन ।
(७) स्वार्थ, संकीर्णता र बौद्धिक अहमता त्यागिएको हुँदा गजलकारको प्राज्ञिक उचाई अग्लिएको पाइयो ।
(८) गजलहरू, भाव सन्देश र परिवेशपूर्ण छन् , सुबोध्य र युगबोध्य छन् ।
(९) कलापक्षको कमजोरीले प्रगतिशीलता सल्बलाएको भएता पनि भावपक्षको गाम्भीर्यताले प्रगतिवादको जग पक्रिएको हुँदा धनपतिज्यूलाई प्रगतिवादी सर्जकको रूपमा सहस्र स्वीकार्न सकिन्छ ।
(१०) व्याकरणका हिसावले सुद्धासुद्धिमा र कलाका हिसावले काफिया एवं रदिफ मिलानमा कसरत पुगेको छैन, त्यसतर्फ सर्जकको ध्यान जान जरूरी छ ।
(११) ३ देखि ८ श्लोकसम्मका गजलहरू यसमा रहेका छन् तर ४–६ अथवा सोझै ५ श्लोकका भाव, सन्देश एवं परिवेशपूर्ण तथा गायनयोग्य गजलरचना गर्ने, अझै भनौं गजलको संख्या बढाउनेतिर भन्दा पनि गुणस्तर बढाउनेतिर ध्यान केन्द्रित गर्ने सुझाव सहित सर्जकको उत्तरोत्तर प्रगतिको कामना गर्दै यो समालोचनालाई यहीं बीट मार्छु । जय गजल !

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।