विराटनगर । विराटनगरको जुट मिलको खेलमैदानमा ‘ग्रासरूट फुटबल ट्रेनिङ’ सुरु भएको छ । मिल्स गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा ग्रासरूट फुटबल ट्रेनिङ सुरु भएको हो ।
नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले मिल्स गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा ट्रेनिङ सुरु गरिएको संयोजक तथा ट्रस्टको कोषाध्यक्ष विष्णु डङ्गोलले जानकारी दिए । दुई महिनाबाट ग्रासरूट फुटबल ट्रेनिङ सुरु भए पनि ट्रस्टले शनिवार एक कार्यक्रम आयोजना गरी औपचारिक रूपमा उद्घाटन गरेका छ । ट्रेनिङ को उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्त रूपमा गरिन् ।
कार्यक्रममा बोल्दै महानगरपालिका प्रमुख कोइरालाले खेलकुद क्षेत्रको विकासमा विराटनगर महानगरपालिकाले सहयोग गर्ने बताए । उनले खेलकुद क्षेत्रको विकासमा महानगरपालिका लागि पर्ने बताए । कार्यक्रममा मिल्स गोल्ड कप फुटबल ट्रस्टका सल्लाहकार किशोर सुब्बाले राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गरेको भन्दै यसको विकासमा तीन तहको सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
ग्रास रुट फुटबल प्रशिक्षणको संयोजक डङ्गोलले मिल्स एरियाको लामो फुटबल इतिहासलाई मर्न नदिन फुटबल प्रशिक्षण केन्द्र कोषे ढुङ्गा साबित हुने बताए । प्रशिक्षणमा विराटनगर दक्षिण क्षेत्र १२, १३, १४, १५, १६ र १७ वडाका ५ वर्षदेखि १६ वर्षसम्मका ७५ जना खेलाडीको सहभागी रहेको उनले बताए । प्रशिक्षण साँझदेखि १ घण्टा हुने गरेको छ । मुख्य प्रशिक्षक जितेन्द्र कुमार साह रहेका छन् ।