विराटगनर । मोरङको कटहरी ४ मा रहेको ग्रिन टायर उद्योग प्रालिले शेर्पा ब्राण्डको ‘एग्रिकल्चर टायर’ बजारमा ल्याएको छ । उद्योगले विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी उक्त टायर बजारमा ल्याएको हो ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र ग्रीन टायर उद्योग प्रा.लि.का प्रबन्धक निर्देशक विनित सिंघानियाले संयुक्त रुपमा टायर सर्वाजानिक गरे ।

एग्रिकल्चर सेगमेन्ट अन्तर्गतका ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डका भूमि, सारथी मोडलका ठूला र साना टायरहरू उत्पादन सुरू गरिएको उद्योगका प्रवन्धक निर्देशक सिंघानियाले जानकारी दिए । एग्रिकल्चर सेगमेन्ट अन्तर्गतका ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डका भूमि, सारथी मोडलका ठूला र साना टायरहरू उत्पादन सुरू गर्ने उनले बताए ।

उक्त मोडल अन्तर्गत पहाडमा चल्ने ६० एचपीका टायर, मध्य पहाडमा चल्ने ५० एचपीका टायर, सामान्य खेतीका लागि हुने ३५ देखि ४५ एचपीका टायर, ७५० एचपीको पहाडमा चल्ने अगाडिका टायर, ६०० एचपीको हाते ट्याक्टरको अगाडिको टायर र ६१६ एचपीको सबै ट्याक्टरमा चल्ने अगाडिको टायर उद्योगले उत्पादन गर्ने सिंघानियाले बताए ।

शेर्पा ब्राण्डका एग्रिकल्चर टायरहरू उत्पादन गरी बजार पढाउन सुरू गरेको छ । हत्तपत्त काँटीले नछेड्ने, हिलोमा नचिप्लिने र लामो समयसम्म टिकाउ हुने खालका टायर उद्योगले उत्पादन गर्ने जनाइएको छ ।

‘नेपाली कृषिलाई सुहाउँदो टायर तथा विदेशी टायरसँग प्रतिस्पर्धा गर्न सक्षम नेपाली टायरहरूको उत्पादन गरेका छौं,’ उनले भने, ‘नेपालमा स्वदेशी रबरहरू पनि प्रयोगमा ल्याउन थालेको र गुणस्तरलाई ध्यानमा राखी किसानहरूलाई बेला–बेलामा स्वदेशमा गुणस्तरीय रबर उत्पादन गर्न सकिने तालिम दिँदै आएका छौं ।’

उत्पादित टायरका मोडलहरू विदेशी टायरका तुलनामा आकर्षित र गुणस्तरीय, सस्तो, भरपर्दो रहेको पनि सिंघानियाले बताए । उद्योगले कम्पनीका उत्पादित टायरहरू सजिलै ग्राहकहरूकोमा पु¥याउनका लागि नेपालभरि डिलरसिपको आवेदन माग गरिसकेको पनि जनाएको छ ।

‘दक्ष जनशक्ति नवीनतम् प्रविधि तथा उपकरणको प्रयोग गरी अगाडि बढेको र आफ्ना उत्पादनहरूको तौल, माइलेज, क्वालिटी, फिनिसिङ लगायत सबै कुरामा विशेष ध्यान दिएका छौं,’ उनले भने, ‘सबै टायरहरूमा म्यानुफ्याक्चरिङ वारेन्टी रहेको र हामीले आइएसओ मापदण्ड अनुसार उत्पादन गरेका छौं ।’

ट्याक्टरमा लाग्ने सम्पूर्ण साइजका टायरहरू उत्पादन गरेको उद्योगले आगामी तीन महिनामा ट्रलीमा लाग्ने टायरहरू पनि बजारमा ल्याउने योजना बनाएको छ । यसका साथै कमर्सियल हेभी इक्युपमेन्ट, ट्रक टायर लगायतका टायर उत्पादन गर्ने योजना रहेको उद्योगले जनाएको छ ।

२०६३ सालमा स्थापना भएको उद्योगले दुई ह्विलर टायरबाट  आफ्नो उत्पादन सुरू गरेको थियो। उद्योगले हाल २ र ३ ह्विलिर टायर उत्पादन गर्दै आएको निर्देशक सिंघानियाले जानकारी दिए ।

४० करोड लगानीमा स्थापना भएको उद्योगले नेपालमा टायरको उत्पादन सम्भावना र भविष्यलाई मध्यनजर गर्दै लगानी थप गर्ने पनि सिंघानियाले बताए । उद्योगको वार्षिक उत्पादन क्षमता तीन लाख टायर रहेको छ । उद्योगले १०० जना भन्दाबढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

निजी लगानीमा नेपालमा दुई वटा मात्र टायर उद्योग भएकाले नेपालको मागलाई धान्न नसकेको सिंघानियाले बताए । नेपालमा भएको मागको १५ प्रतिशत मात्र धान्न सकेको उनको भनाइ छ । ‘मेरो देश मेरो उत्पादन’लाई उद्योगले आत्मसात गर्दै अगाडि बढेको उनले बताए ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले देशको खस्किँदो अर्थतन्त्रको बाबजुद पनि उद्योगमा लगानी गर्नु सराहनीय काम भएको बताए । नेपालमा टायर उद्योग स्थापना भएसँगै भारतीय, कोरियन ब्राण्डका टायरहरू केही हदसम्म भए पनि आयात कम हुने उनको भनाइ छ । विदेशी टायर प्रयोग गर्दा नेपाली पैसा बाहिर जाने गरेको बताउँदै रिजालले स्वदेशी उत्पादन प्रयोग गर्दा पैसा स्वदेशमा नै रहने बताए ।