ताप्लेजुङ । साविकमा महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर ताप्लेजुङमा हुने पाथीभरा म्याराथन तथा महोत्सव यो वर्ष असोज ११ बाट हुने भएको छ ।
असोज ११ गतेबाट १३ गतेसम्म तीन दिन म्याराथन तथा महोत्सव सञ्चालन हुने मिति तय भएको जानकारी पाएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका उपाध्यक्ष नारायण थापाले बताए ।
कार्यक्रम सञ्चालनको खाका, प्रक्रिया र अन्य आवश्यकीय परार्मशका लागि मंगलबार अपरान्ह सर्वपक्षीय सर्वदलीय बैठक बोलाइएको समेत थापाले जानकारी दिए । साविकमा पाथीभरा म्याराथन तथा महोत्सवका बेला खुल्लातर्फ पाथीभरा म्याराथन तथा महिलातर्फ हाफ म्याराथन हुने गरेको थियो ।
खुल्ला म्याराथन तोक्मेबाट सुरु भई ३ हजार ७९४ मिटर उचाइको पाथीभरा मन्दिरको टुप्पोमा पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने गरेको छ । महिला हाफ म्याराथन भने तोक्मेडाँडाबाट सुरु भइ काफ्लेपाटी पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने गरेको थियो ।