विराटनगर । विमानस्थल पीडित सङ्घर्ष समितिले आज देखि दोस्रो चरणको आन्दोलन थालेको छ ।
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अधिग्रहणका लागि भनेर झन्डै डेढ वर्षदेखि सरकारले विराटनगर विमानस्थल आसपासको १२६।४६ बिघा जग्गा रोक्का राखेको थियो । अहिले विमानस्थल विस्तारको विषय ओझेलमा पर्दै गइरहेको छ ।
‘कि मुआब्जा देऊ, कि रोक्का गरेको जग्गा फुकुवा गरिदेऊ’ भन्दै समितिले जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयलाई ७ दिनको अल्टिमेटम दिएको थियो । अल्टिमेटम सोमवार पूरा भएको थियो ।
मङ्गलवार देखि उनीहरूले चरणबद्ध आन्दोलन सुरु गरेका छन् । लामो समयदेखि जग्गा रोक्का राखिएको र मुआब्जासमेत नदिएको तथा मुआब्जाका लागि बजेटको सुनिश्चितता नगरिएको भन्दै विमानस्थल पीडितहरू आन्दोलित बनेका हुन् । उनीहरूले आज ९सोमवार० विराटनगर विमानस्थलको चेम्बर गेटमा धर्ना दिएका छन् ।
समितिले असार १० गते जिल्ला प्रशासन कार्यालयअगाडि जग्गा प्राप्ति ऐन, २०३४ जलाउने र ऐन परिमार्जनका लागि सरकारलाई दबाब दिने कार्यक्रम राखेको छ ।
त्यस्तै समितिले असार ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको पुत्ला दहन, प्रमुख राजनीतिक दलहरूलाई आन्दोलनप्रति समर्थन र अपनत्व ग्रहणका निम्ति पत्राचार तथा शीर्ष नेताहरूसँग अन्तरक्रियाको कार्यक्रम राखेको छ ।

