काठमाडौं । चर्चित अभिनेत्री रेखा थापाले फेरि विवाह बन्धनमा बाँधिएकी छन्। स्रोतका अनुसार थापाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्। थापा र शाही लामो समयदेखि प्रेममा थिए।उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्।
स्रोतअनुसार रेखाले माघ १२ गते जाजरकोट स्थायी घर भएका प्रेमी शाहीसँग बिहे गरेकी हुन्। पछिल्ला दिनमा रेखासँग गहिरो प्रेममा रहेका शाही अमेरिकामा बसेर व्यवसाय गर्दै आएको बुझिएको छ।
‘रेखा थापा त्यसदिन कानुनी बिहे दर्ता गर्न आफ्नो जोडीसँग मास्क लगाएर आउनुभएको थियो,’ अदालत स्रोतले भन्यो, ‘जोडीलाई बिहेको प्रमाणपत्र दिने बेला नाम रेखा थापा देखेपछि न्यायाधीशले उहाँलाई खोइ हामी नि हेरौँ न भन्दै मास्क नै खोल्न लाउनुभएछ। माहोल रमाइलो भएछ।’
थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले ९ वर्षअघि डिभोर्स गरेका थिए।