विराटनगर । मंसिर २८ गते राति अत्याधिक उल्का वर्षा हुने वैज्ञानिकहरुले बताएका छन् । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा २८ गते राति उत्कर्षमा पुग्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभएको छ ।
यो मिथुन उल्का वर्षा क्षुद्रग्रह तीन हजार २०० फेथनले अन्तरीक्षमा छाडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटरमाथि जलेर देखिने जनाइएको छ ।
उल्का वर्षाको समयमा उल्का मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामाकरण गरिएको हो । आकाश खुलेको बेला सहजरुपमा सर्वसाधारणले उल्का वर्षा हेर्न सक्ने बताइएको छ ।
मंसिर २८ गते आइतबार राति ८ बजेदेखि सोमबार बिहान ५ः३० सम्म देख्न सकिने छ । यो उल्का वर्षा पुस २ गतेसम्म जारी रहने जनाइएको छ ।