यो देशका नायकहरु कायरहरुद्वारा
पराजित भएको देख्दा,
उ जस्ता कायरको हातमा
कसरी सुम्पन सक्छु, यो देशको राज्यसत्ता,
जसले कहिल्यै चिनेन एक नायकको महानता,
बरु कचक्क कुल्चियो उदयका भावनाहरु ।
हे भगवान ! मलाई कायरद्वारा शासित नगराउ
बरु बन्नु परे बनुला बीर सपुतको कमारो,
जिउने प्रतिष्ठाको खोजी भइरहेछ यहाँ
अधुरा सपना बोक्ने नायकहरुद्वारा,
घामिलो रापमा लुकिरहेछ कल्पनाको प्रतिष्ठा ।
पिउनु नपरोस्, कायरले दिएको नुनिलो पानी,
मर्नु नपरोस्, उसका अल्पज्ञानी सिद्धान्तमा फसेर,
जीवनका पाइलाहरु कुपोषित भएका छन्, आज,
सायद नायकहरु कायरहरुद्वारा लुटिए होलान् ।
आज मृत्युको तस्बिरले गाईरहेछ
तिनै पराजित नायकहरुको भविश्यको गीत ।
मृत्यु कहाँ त्यति निष्ठुरी छ र खुशी खोस्न,
कायर शासकले कहाँ बुझ्छ र करोडौंको प्रश्न,
यहाँ जो बीर थियो, उही शहिद भयो,
कायर त जुम्रा सरी चुस्न ब्यस्त छ सायद,
नायक हार्दा कायर मनाउँछ बिजयको उत्सब,
अनविज्ञ छ ऊ नायकका कलमहरुको तागतसँग ।