विराटनगर । लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित विराटनगरबाट एक वृद्ध पक्राउ परेका छन् ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर महानगरपालिका–१६ दरैयाका ६१ वर्षीय रामु मण्डललाई सोमबार साँझ पक्राउ गरेको हो ।
विराटनगर– १२ कलेज रोडबाट पक्राउ परेका उनको साथबाट ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगर फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।
साइकलमा यात्रा गरिरहेका वृद्धले भारतबाट ब्राउन सुगर लिएर आएको हुनसक्ने आशंका प्रहरीको छ । उनले लगाएको टी–सर्टको अगाडिको गोजीमा सेतो प्लाष्टिकभित्र प्याक गरेर राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको डीएसपी राईको भनाइ छ । मण्डलविरुद्ध लागुऔषध मुद्दा चलाउन प्रहरीले प्रक्रिया अघि बढाएको छ ।