इलाम । दुबै मिर्गौला फेल भएपछि समस्यामा रहेकी इलामकी अञ्जली तामाङलाई उपचारमा सहयोग गरिदिन परिवारजनले आग्रह गरेका छन् ।
प्यारालाइसिस भएर ६ वर्षदेखि आमा थलिइरहँदा छोरी अञ्जलीको पनि मिर्गौलाले काम गर्न छाडेपछि इलामको सूर्याेदय नगरपालिका १० को तामाङ परिवार पीडामा छ ।
चिकित्सकहरूले एक वर्षअघि नै अञ्जलीको मिर्गौलाले काम गर्न छाडेको बताएका थिए । करफोक विद्यालयमा कक्षा २ मा अध्ययनरत उनी एक वर्षदेखि स्कूल जान सकेकी छैनन् । बुबा टीकारामले दैनिक ज्यालादारी गरे परिवारको गुजारा चलाइरहेकोले उपचार गर्न सक्ने सामथ्र्य छैन ।
फूलजस्ती छोरीलाई बचाउने कुरा अब दाताहरूकै हातमा रहेको बाबु टिकारामले बताउनुभयो । टिकारामकी श्रीमती सुमित्रा तामाङ प्यारालाईसिस भएको कारण घरभित्र बाहिर गर्न पनि समस्या छ । छोरीको पीडाले उनलाई झनै कमजोर बनाउँदैछ ।
अञ्जलीको समस्या सार्वजनिक भएपछि उनको उपचारको लागि स्थानीय युवा समाजसेवी कुनाल राईको अगुवाइमा आर्थिक सहयोग संकलन शुरू भएको छ । आफ्नै नजिकका साथीभाई र आफू कार्यरत संस्था चौधरी ग्रुपमा सहयोग रकम संकलन अभियान चलाएका राईले ६३ हजार रुपैयाँ संकलन गरिसकेको बताउनुभयो ।
अञ्जलीको यतिबेला खुट्टादेखि टाउकोसम्म पूरै सुन्निएको छ । बिर्ता सिटी अस्पताल झापाले रिफर गरेपछि उनको विराट नर्सिङ होम अस्पताल विराटनगरमा उपचार भइरहेको छ । तामाङ परिवारले छोरीको ज्यान बचाउन सहयोग संकलनका लागि इलामको फिक्कल स्थित कृषि विकास बैंकमा खाता खोलेका छन् । तामाङले कृषि विकास बैकको खाता नम्बर ०६०१००१६२९६४६०११ मा सहयोग गरिदिन आग्रह गर्नुभयो ।