विराटनगर । मोरङ, झापा र सुनसरीमा भएका विभिन्न घटना र दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा सिमेन्टको बोराले थिचेर ३५ वर्षीय कुमार उरामनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार न्यू पञ्चकन्या सेन्टरी हार्डवेयरमा ल्याएको सिमेन्ट बोकेर स्टोरतर्फ लाने क्रममा अचानक लड्दा बोराले उनलाई थिचेको थियो । सिमेन्टको बोराले थिचेर घाइते भएका कुमारको उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको हो ।
उता झापाको बिर्तामोड नगरपालिका–५ मनमोहन अस्पताल अगाडि हायस माइक्रो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको बा ४ ख ५१०० नम्बरको गाडीले बाटो काट्दैगार्द पैदल यात्रीलाई शुक्रबार राति ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका पाँचथर घर भई मेचीनगर नगरपालिका–११ धाइजन बस्दै आएका ६८ वर्षीय विर्खध्वज काम्वाङ (लिम्बू)को उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । हायस चालक झापाको भद्रपुर –१ का ३८ वर्षीय बाबुराम कट्टेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै घाँस काट्ने क्रममा लडेर सुनसरीको इनरुवा नगरपालिका–९ की ३५ वर्षीय दुखनीदेवी खत्वेको मृत्यु भएको छ । खेतमा घाँस काट्ने क्रममा लडेर शुक्रबार बेहोस भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटैमा साँझ मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।