धरान । सुनसरीको धरान–१४ को दुईधारेमा रुखको हाँगाले लागेर बिहीबार तीन वर्षीया बालिकाको ज्यान गएको छ ।
बिहीबार दिउँसो दन्तकाली मन्दिरतर्फबाट फर्किंदै गर्दा दुईधारेमा रुखको सुकेको हाँगा झरेर लागेपछि गम्भीर घाईते भएकी एबिसा राईको उपचारका क्रममा मृत्यु भएको हो ।
रुखको हाँगा झर्दा एबिसासहित उनकी आमा विष्णु राई र दिदी नेबिसा राई घाईते भएका थिए । घाईते तीनै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
टाउकोमा चोट लागेर गम्भीर अवस्थामा रहेकी एबिसालाई भेन्टिलेटरसहित पिआइसियुमा उपचार गर्नुपर्ने भएपनि प्रतिष्ठानमा खाली नभएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उनको न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
आमा विष्णुको अवस्था सामान्य रहेको र दिदी नेबिसाको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनापछि धरान १४ वडा कार्यालयले दुईधारे क्षेत्रमा अझै पनि रुखका हाँगा झर्ने सम्भावना रहेकाले केही समयका लागि सो बाटो नहिँड्न आग्रह गरेको छ ।