जाँते(मोरङ) । उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँतेमा आगलागी हुँदा एउटा घर जलेर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
तत्कालिन जाँते ८ का स्थानीय धनबहादुर राईको दुईतले काठको घरमा विद्युत सर्ट भई आगलागी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको हो ।
आगलागीमा परी अन्दाजी ५० लाख रुपैयाँ बराबरको क्षति भएको अस्थाई प्रहरी चौकी जाँतेका प्रहरी सहायक निरीक्षक हरिनारायण राजवंशीले बताउनुभयो । राजवंशीका अनुसार क्षतिको विवरण प्रारम्भिक भएकोले सो अंकमा घटबढ पनि हुनसक्ने छ ।
आगलागी झण्डै पौने दुई घण्टासम्ममा नियन्त्रणमा लिइएको थियो । आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको स्थानीय प्रकाश राईले बताउनुभयो । आगो नियन्त्रणमा आईसकेपछि मात्र सुन्दर हरैंचाको बारुणयन्त्र आएको थियो ।
आगलागी भइरहेको स्थान पहिचान हुन नसक्दा विराटनगरबाट आएको बारुणयन्त्र भने करिब डेढ घण्टा ढिला गरी आएको थियो । स्थानीय स्तरमा बारुणयन्त्र नहुँदा पनि ठूलो क्षति हुन पुगेको स्थानीयको ठम्याई छ । आगलागीपछि स्थानीय जनप्रतिनिधिको टोलीले अनुगमन गरेको थियो ।
हरेक वर्ष लेटाङ्ग नगरले भोग्दै आएको आगलागीको क्षतिको पीडा न्युनिकरण गर्न गत वर्ष नै दमकल खरिदको लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको भएपनि कोभिडको कारण खरिद हुन सकेको थिए । आगलागीमा परेका पीडितहरुलाई तत्कालै आवश्यक पर्ने खाद्यदेखि आवसको सामाग्री उपलव्ध गराउने स्थानीय वडाध्यक्ष कृष्ण लुईटेलले जानकारी दिनुभयो ।
विहानको खाजा खाएर घरमा मसिना केटाकेटी मात्र छोडेर काममा गएको र केही समयपछि नै आगलागी भएकाले घरमा कसरी आगलागी भएको हो भन्न कठिन भएपनि आगलागी हुनेगरी कुनै सामाग्री घरमा नभएकाले विद्युत सर्ट भएरै आगलागी भएको अनुमान रहेको पीडितको भनाइ छ । आगलागीमा शरिरमा लगाएको कपडाबाहेक केहि पनि बचाउन नसकेको उहाँले बताउनुभयो ।
आगलागीमा केही मन धान, मकै, जग्गा बेचेर राखेको ६ लाख रुपैयाँ नगद, पाँच तोला चाँदी, चार तोला सुन र जस्ता पाता लगाएको काठैकाठको दुईतले घर जलेर नष्ट भएको छ ।