विर्तामोड । झापाको भद्रपुरस्थित मेची अस्पतामला रहेको पिसिआर मेसिनबाट कोरोना भाइरसको परीक्षण बन्द भएको छ।
मेची प्रादेशिक अस्पतालमा साउन २६ गतेदेखि सञ्चालनमा आएको पिसिआर परीक्षण सेवा बुधबारदेखि बन्द भएको हो।
पिसिआर प्रयोगशालामा चाहिने पिसिआर प्लेट कभर सकिएपछि सेवा बन्द भएको अस्पतालले जनाएको छ । ‘प्रयोगशालामा चाहिने आरएनए एक्स्ट्राक्सन र पिसिआर किट स्टकमा रहेपनि प्लेट कभर नहुँदा परीक्षण रोकिएको अस्पतालको भनाइ छ ।
स्विस सरकारले उपलब्ध गराएको अत्याधुनिक पिसिआर मेसिनमा प्लेट कभर अनिवार्य चाहिने बताइएको छ । प्लेट कभर स्वास्थ्य मन्त्रालयसँग माग गरिसकेको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पीताम्बर ठाकुरले प्रदेश सरकारलाई पनि त्यसबारे जानकारी दिएको उल्लेख गर्नुभयो । कभर आएपछि मात्र परीक्षण सुरु हुने उहाँको भनाइ छ ।
अहिलेसम्म मेची अस्पतालको प्रयोगशालामा २ हजार ५ सय ८ जनाको कोरोना परीक्षण भइसकेको छ। त्यसमध्ये १४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
परीक्षण सेवा बन्द भएपछि कैद भुक्तानका लागि झापा कारागार पठाउने कैदीलाई समस्या भएको छ। बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त झापाको बाह्रदशी ३ बस्ने नरप्रसाद पनेरुलाई पक्राउ गरी प्रहरीले पिसिआर परीक्षणका लागि बुधबार मेची अस्पताल लगेकोमा परीक्षण सेवा बन्द भएको भन्दै उनलाई त्यसै कारागार पठाइएको छ।
कोरोना जाँचबिनै उनलाई कारागार पठाएपछि कारागार प्रशासनलाई स्वास्थ्य सुरक्षा चुनौती थपिएको छ। प्रहरीले कुनै पनि नयाँ व्यक्तिलाई कैद भुक्तानका लागि ल्याएको खण्डमा उनको अनिवार्य पिसिआर गरी रिपोर्ट नेगेटिभ आएमा मात्र कारागारभित्र प्रवेश गर्न दिने प्राबधान छ ।