विराटनगर । कोशी प्रदेशसभामा जेठ १२ गतेदेखि जारी अवरोध दलहरुबीचको सहमतिसँगै अन्त्य भएको छ । प्रदेशसभाको बैठक बस्नु अगाडि आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख र दलका नेताहरुबीच गतिरोध अन्त्य गर्ने सहमति भएको हो ।
प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम प्रदेशसभाले सर्वसम्मत ढंगले परित भएको भन्ने सभामुखको घोषणा सच्याउने र उक्त सहमति सभामुखले प्रदेशसभाको बैठकमा वाचन गर्ने सहमति भएसँगै गतिरोध अन्त्य भएको हो । सो सहमति अनुरुप सभामुख अम्बर बहादुर विष्टले सभामा पढेर सुनाएका थिए ।
विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले आफूहरुको असहमतिका बाबजुद नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरेको र नीति तथा कार्यक्रममाथि संशोधनको समय नदिइ पारित भएको घोषणा गरिएको विषयमा सच्याउन माग गदै त्यसयता प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको थियो । जसका कारण प्रदेश सरकारले बजेट ल्याउनु १५ दिन अगाडि सदनमा पेश गर्नुपर्ने बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्न सकेको थिएन । यो गतिरोध अन्त्य भएसँगै प्रदेशसभामा बजेटका प्राथमिकता र सिद्धान्त पेश भएको छ र छलफल चलिरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।