लोड हुँदैछ...

मेनु

उदयपुरमा ११३ जनाको निःशुल्क आँखाको शल्यक्रिया सफल

उदयपुरमा ११३ जनाको निःशुल्क आँखाको शल्यक्रिया सफल

उदयपुर । उदयपुरको “दृष्टि कुञ्ज” का रूपमा परिचित नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालित नेपाल नेत्रज्योति मदन भण्डारी आँखा अस्पतालले ११३ जना आँखाका बिरामीहरूको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।

गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा शल्यक्रिया सफल भएका बिरामीहरूको आँखाको पट्टी खोलिएको थियो। कार्यक्रममा उदयपुरको सामाजिक तथा सांस्कृतिक इतिहासलाई तस्बिरमार्फत जीवित राख्न योगदान पुर्‍याएका तिम्ला फोटो स्टुडियोका सञ्चालक पुष्पलाल उदासको विशेष उपस्थिति रहेको थियो।

नेपाल नेत्रज्योति सङ्घका संस्थापक सदस्यहरूमध्येका एक उदासले २०३५ देखि २०५० दशकसम्मको उदयपुरको सामाजिक जीवन, संस्कृति र परिवेशलाई तस्बिरमा कैद गर्दै ऐतिहासिक अभिलेख सुरक्षित राख्न महत्वपूर्ण योगदान पुर्‍याएका छन्। कार्यक्रममा गाईघाटको विकासमा उनले पुर्‍याएको योगदानको समेत स्मरण गरिएको थियो।

अस्पतालका अध्यक्ष भागवत राउतका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा उपचारबाट वञ्चित बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको अभियानबाट सयौँ नागरिक लाभान्वित भएका छन्। शल्यक्रियापछि धेरै बिरामीले पुनः उज्यालो संसार देख्न पाउँदा खुसी व्यक्त गरेका थिए।

कार्यक्रम सफल बनाउन प्राविधिक सहयोग पुर्‍याउने सगरमाथा चौधरी आँखा अस्पतालका चिकित्सक तथा प्राविधिक टोलीप्रति अस्पताल प्रशासनले आभार व्यक्त गरेको छ। अस्पतालले आगामी दिनमा पनि यस्ता निःशुल्क सेवा अभियानलाई निरन्तरता दिने जनाएको छ।

स्थानीयवासीहरूले ग्रामीण भेगका नागरिकका लागि यस्ता मानवीय सेवामूलक अभियान प्रभावकारी र राहतदायी भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।