लोड हुँदैछ...

मेनु

धारिलो हतियारसहित १० युवा पक्राउ

धारिलो हतियारसहित १० युवा पक्राउ

विराटनगर । मोरङको पथरीशनिश्चरेमा सम्भावित आपराधिक घटना नियन्त्रण गर्दै प्रहरीले १० जनालाई हतियारसहित पक्राउ गरेको छ।

सामान्य विवादपछि आक्रमणको योजना बनाएर बसेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बुधबार राति करिब ११ः३० बजे पथरीशनिश्चरे नगरपालिका–९ र १० को सिमानामा रहेको डाँस खोलाको झोलुंगे पुलनजिकबाट इलाका प्रहरी कार्यालय पथरीको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पथरीशनिश्चरे–१ की १८ वर्षीया आरिया धिमाल, कृपा लिम्बू, पथरीशनिश्चरे–४ का एबिन राई, सुप्रिम राई, रिदम तामाङ, पथरीशनिश्चरे–९ का निशान माझी, सुशन ठटाल तथा पथरीशनिश्चरे–१० का युजिन राई, अपिल राई र अभिषेक थापा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट कट्टी, खुर्पा, मार्तल, हाते बन्चरो, चेन र भालाजस्ता धारिलो हतियार तथा औजार बरामद गरिएको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरू कुनै व्यक्तिमाथि आक्रमण गर्ने उद्देश्यले बाटो ढुकेर बसेको खुलेको छ।

गाउँमा भएको सामान्य विवादपछि प्रतिशोध स्वरूप आक्रमणको तयारी गरिएको देखिएको उनले बताए। ‘समयमै प्रहरी पुगेका कारण सम्भावित ठूलो घटना हुनबाट रोकिएको छ,’ एसपी कटवालले भने, ‘प्रहरीको सक्रियताले मानवीय तथा भौतिक क्षति हुन पाएन।’

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको छ। उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।