विराटनगर । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि मोरङको बुढीगंगा गाउँपालिका २ टंकिसिनवारीमा रहेको विराट टिचिङ्ग हस्पिटलले संक्रमित राखेर उपचार गरिने ६० शैय्यााको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।
टिचिङ्ग हस्पिटलदेखि छुट्टै स्थानमा कोरोना संक्रमित राखेर उपचार गर्नेगरी आइसोलेसन सञ्चालनमा ल्याइएको हो ।
हस्पिटलका सञ्चालकसमेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कोरोना परास्त गरेपछि संक्रमितलाई राखेर उपचार गरिने आइसोलेशन संचालनमा ल्याएका हुन् । बुढीगंगा गाउँपालिका र टिचिङ्ग हस्पिटलको सहकार्यमा संचालनमा आएको आइसोलेनमा महिला र पुरूषको लागि छुटा–छुट्टै वार्ड रहेको छ । एसी र फ्रि वाइफाई रहेको आइसोलेसनमा बायोमेडिकल वेस्ट म्यानेजमेन्टको सम्पूर्ण नियमको पालनमा गरेर संक्रमित राखिने हस्पिटलले जनाएको छ ।
हस्पिटलका भाइस चियरमेन दिनेश कार्कीका अनुसार विरामीको लागि दैनिक ४ पटक अस्पतालको क्यान्टिनबाट पोषणबिदको सल्लाह अनुसार आहारको व्यवस्था गरिएको छ । ‘भर्ना भएका विरामीलाई दैनिक तीन पटक नर्सले स्वास्थ्य जाँच गर्नेछन्,’ उहाँले भन्नुभयो, ‘आइसोलेशनमा भर्ना भएका विरामीको अवस्था अनुसार स्वास्थ्यर्की परिचालन हुनेछ ।’ भर्ना भएका कुनै पनि विरामी गम्भीर भए त्यस्ता विरामीको लागि अक्सिजन र उपकरणको पनि व्यवस्था गरेको छ ।
अस्पतालले संचालनमा ल्याएको आइसोलेशन २० जना अस्पताल भित्रको कर्मचारीको लागि र ४० सर्वसाधरणको लागि छुट्याएको छ । सञ्चालनमा आएको आइसोलेशनमा एक जना गर्भवतीसहित चार जना कोरोना संक्रमित भर्ना भएका छन् ।
आवश्यक उपचार सामाग्री बाहेक आवश्यक जनशक्ति तथा व्यवस्थापनमा दैनिक १ लाख रुपैयाँ खर्च हुने हस्पिटलको दावी छ । सञ्चालनको दैनिक खर्च सम्बन्धित निकाय र दाताहरुबाट प्राप्त भएमा संक्रमितको उपचार निःशुल्क गर्ने अस्पतालले जनाएकोे छ ।