तस्करी गर्न लागेको हरियो मटर बरामद

विराटनगर । मोरङको दक्षिणी क्षेत्रको छोटी नाकाबाट हरियो मटर भारतर्फ तस्करी हुने गरेको पाइएको छ । मोरङको धनपालथान गाउँपाकिा २ पौठाबाट छोटी भन्सार नाका हुँदै मिनीट्रकमा भारतर्फ लैजान लागेको ६ हजार २ सय ५० केजी हरियो मटर बरामद प्रहरीले गरेसँगै यस्तो तथ्य खुलेको हो ।

तस्करीमा प्रहरीकै संलग्नताका कारण यसअघि मटर बरामद हुन नसकेको स्रोतको दाबी छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सिमा प्रहरी चौकीका इञ्चार्ज परिर्वतन र सिमा खटिएका प्रहरीलाई अवैध चोरी तस्करी रोक्न कडा निर्देशन दिएपछि प्रहरीको टोलीले तस्करी हुने गरेको मटर बरामद भएको हो ।

बुधबार राति १० बजे सीमा नाकाबाट ठूलो परिमाणमा ट्रकमा भारतर्फ हरियो मटर तस्करी भइरहेको गोप्य सूचना पाएपछि इलका प्रहरी कार्यालय रंगेली र सीमा प्रहरी चौकी मायागञ्जको टोली पुगेको थियो । प्रहरी टोली पुग्नसाथ धनपालथान गाउँपालिका २ का दिलिप साहले तस्करी गरि भारतर्फ लैजान लागेको हरियो मटर बोकेको को १ ख ४८८७ नम्बरको मिनी ट्रक छोडेर फरार भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरीले बरामद गरेको मटर पाँच लाख रुपैयाँ मूल्य बराबरको रहेको डिएसपी राईले बताउनुभयो । ‘हरियो मटर तस्करी हुँदै गरेको प्रहरीलाई गोप्य सूचना आएको थियो’ उहाँले भन्नुभयोे, ‘घटनास्थलमा पुगेको प्रहरीलाई देख्नसाथ तस्करी गरि लैजाने र चालक पनि फरार भए ।’ प्रहरीले घटनामा संलग्न र चालकको पनि खोजी कार्य तीव्र बनाएको जनाएको छ ।

प्रहरीले बरामद गरेको हरियो मटरसहितको ट्रक ईप्रका रंगेली ल्याएपछि आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने तयारी गरिएको डिएसपी राईले जानकारी दिनुभयो । मोरङको दक्षिणी सीमा क्षेत्रको दशगजा क्षेत्रमा भण्डारण गरी तस्करीका समान टेम्पो, रिक्सा, साइकल, मोटरसाइकलमा राखेर भारतर्फ कटाउने गरिन्छ । सीमा क्षेत्रमा भण्डारण गरिएको अवैध समानहरू प्रायः रातको समयमा तस्करी गर्ने गरिएको पाइएको छ ।

बिहिबार, २२ साउन, २०७७, दिउँसोको १२:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर