विराटनगर । प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ ।
कोरोना भाइरसको महामारीका बेला जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा जिल्लामा क्रियासिल १५० जना पत्रकारको निःशुल्क बीमा गर्ने युनियनले जनाएको छ ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन र आईएमई जनरल इन्सुरेन्सबीच बीमासम्बन्धि सम्झौता आइतबार भएको छ । सम्झौता अनुसार बीमा गरेको १५ दिनपछि १ वर्षसम्म बिमित पत्रकारलाई कोरोना भएको पुष्टि पिसिआर परीक्षणमा भएमा एक लाख रुपैयाँ प्रदान गरिनेछ ।
सम्झौतामा युनियनका तर्फबाट अधिकारी र इन्सुरेन्सका प्रदेश मार्केटिङ संयोजक विमलकुमार रन्जितकारले हस्ताक्षर गर्नुभयो । इन्स्योरेन्सको बिराटनगर स्थित कार्यालयमा सम्झौता भएको हो । बिमाले पत्रकारलाई ठुलो टेवा पुग्ने र काममा हौसला मिल्ने अधिकारीले बताउनुभयो ।
इन्स्योरेन्सका संयोजक रञ्जिकारले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोराना बिमा गरेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का महासचिब विवेक गौतमले युनियन सुनसरीले गर्ने लागेको बिमा कार्यक्रम सह्रानीय रहेको भन्दै प्रदेशभरीका पत्रकारहरुको बीमा गर्न महासंघले अभिप्रेरित गरिरहेको बताउनुभयो ।
युनियन सुनसरी पत्रकारहरुको पेशागत हक हित एवम् सुरक्षाका बिषयमा गम्भीर भएर लागेको गतिलो उदाहरण देखिएको पत्रकार महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुइटेलले बताउनुभयो । सरकाले समेत यस्तो महामारीले पत्रकाहरुको शुरक्षाका लागि चिन्तित भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा इन्स्योरेन्सका इटहरी व्यवस्थापक भोजराज अधिकारी, विराटनगरका व्यवस्थापक सुनिल ठाकुरलगायतको समेत उपस्थिति रहेको थियो ।