विराटनगर । नेपाल–भारत सीमा विवादका सम्बन्धमा प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई लिएर कोशी प्रदेशका विभिन्न ६ वटा महिला संगठनहरूले कडा आपत्ति जनाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको सीमा मिचेकोु भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको ठहर गर्दै ती संगठनहरूले आइतबार कोशी प्रदेशका मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।
नेपाल महिला संघ, अखिल नेपाल महिला संघ, र समाजवादी महिला संघ लगायतका संयुक्त घटकहरूले बुझाएको ज्ञापन पत्रमा प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन र गैरजिम्मेवार रहेको उल्लेख गरिएको छ। ‘भारतले समेत दाबी नगरेको विषयमा प्रधानमन्त्रीले नेपालले सीमा मिचेको भन्नु कुटनीतिक मर्यादा र राष्ट्रहित विपरित छ,’ज्ञापन पत्रमा भनिएको छ।
महिला संगठनहरूले संयुक्त रूपमा तीन बुँदे माग अघि सारेका छन्। जसमा प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति फिर्ता लिँदै माफी माग्नुपर्ने, सीमा सम्बन्धमा सरकारको आधिकारिक धारणा प्रष्ट पार्नुपर्ने र राष्ट्रिय स्वाधिनतामा आँच पुर्याएको भन्दै नैतिकताको आधारमा प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरिएको छ।
नालापानीको युद्धमा महिलाहरूले देखाएको वीरताको स्मरण गर्दै ज्ञापन पत्रमा राष्ट्रिय अखण्डता रक्षाका लागि सम्पूर्ण नेपाली जनसमुदायलाई एकजुट हुन समेत अपिल गरिएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।