लोड हुँदैछ...

मेनु

नेपालले भारतको भूमि मिचेको छ भनेर प्रधानमन्त्रीले नभनेको शिक्षामन्त्रीको दावी

नेपालले भारतको भूमि मिचेको छ भनेर प्रधानमन्त्रीले नभनेको शिक्षामन्त्रीको दावी

विराटनगर । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालले भारतको भूमि मिचेको छ भनेर प्रधानमन्त्री वालेन्द्र शाहले नबोलेको जिकिर गरेका छन् ।

प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भनेर नभनेको दाबी गर्दै मन्त्री पोखरेलले त्यस्तो कुरा सुनेर अचम्मित भएँ मात्र भनेको दावी गरे ।

मन्त्रीपरिषद्का निर्णय सुनाएपछि मंगलबार सञ्चारकर्मीले सोधेको प्रश्नमा पोखरेलले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले बोलेको कुराको बचाउ गरेका हुन् । प्रधानमन्त्रीले दोहोर्याएर बोलेको कुरालाई उनले बोल्दै नबोलेको जिकिर गरे ।

दुई देशबीचका जति पनि सीमा विवाद छन् त्यसलाई वार्ताका माध्यमबाट समाधान गर्ने भनेर प्रधानमन्त्री शाहले भनेको पोखरेलले बताए । ‘प्रधानमन्त्रीले के भन्नुभएको हो भने सीमा विवाद सम्बन्धी काम अघि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि म अचम्मित परेँ भन्नुभएको हो’, मन्त्री पोखरेलले भने, ‘त्यो हिसाबले उहाँले सदनमा भन्नुभएको हो । यसमा परराष्ट्र मन्त्रालयले पनि स्पष्ट पारिसकेको छ ।’

मन्त्री पोखरेलले प्रधानमन्त्री सदनप्रति उत्तरदायी रहेको र आवश्यक पर्दा सदनमा आएर उत्तर दिने बताए ।

१७ जेठको संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने क्रममा भारतले नेपालको भूमि मात्रै नभइ नेपालले पनि भारतको भूमि मिचेको कुरा आफू प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।