एजेन्सी । भारतको महाराष्ट्र स्थित औरंगावादमा रेलले कुल्चेर १६ जना प्रवासी मजदूरको मृत्यु भएको छ ।
औरंगावाद नजिकै रहेको करमाड स्टेशनमा मध्य प्रदेश गइरहेका मजदुरलाई रेलले किचेको हो ।
भारतीय रेल मन्त्रालयका अनुसार शुक्रबार बिहान केही मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको बेला घटना भएको थियो । रेलवे ट्रयाकमा सुतिरहेका मजदूरमाथि रेल चढेको थियो । रेलका चालकले उनीहरुलाई देखेर रेल रोक्ने प्रयास गरेपनि जोगाउन नसकेको बताइएको छ ।
करमाड प्रहरीका अनुसार मजदूरहरु जालनाबाट भुसावल गइरहेका थिए । त्यहाँबाट उनीहरुले रेल चढ्नुपर्ने थियो । मजदूरहरु रेलवे ट्र्याकको छेउ हुँदै हिँडिरहेका थिए । थाकेपछि उनीहरु ट्रयाकमा नै सुत्न पुगेका थिए ।
शुक्रबार बिहान सवा ५ बजे उनीहरुलाई रेलले कुल्चेको थियो । रिपोर्टका अनुसार उनीहरु एक स्टिल फ्याक्ट्रीमा काम गर्थे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख जनएका छन् । बीबीसी